‘कोशी प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ सभामा पेस

विराटनगर, ४ जेठ: कोशी प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा आज ‘कोशी प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ सभामा पेस गरिएको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले उक्त अध्यादेश प्रस्ताव गर्दै सदन सञ्चालनमा नरहेको अवस्थामा नचलेको अवस्थामा सरकारले अत्यावश्यक कामकाज गर्न आठ वटा अध्यादेश ल्याएको जानकारी दिनुभयो ।
उहाँले जनताको चाहना र आवश्यकतालाई परिपूर्ति गर्न एवं प्रदेश सरकारले सम्पन्न गरेको लगानी सम्मेलनसँग सम्बन्धित कानुनलाई संशोधन नगरी नहुने अवस्थामा बाध्य भएर अध्यादेशबाट विधेयक ल्याएको बताउनुभयो । “उद्योग, व्यापारमा देखिएका कठिनाइ र लगानी सम्मेलनमा लगानीकर्तालाई आकर्षित गराउन अध्यादेशबाट आएका विधेयकले लगानी सम्मेलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दियो”, मन्त्री भण्डारीले भन्नुभयो ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलका उपनेता तिलकुमार मेङ्याङ्बो लिम्बूले सरकार सीमित साधनस्रोतको उच्चतम उपयोग गरी जनताको चाहना र आवश्यकतालाई पूरा गर्न इमान्दार भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनताले सरकारसँग निकै आशा र अपेक्षा गरेकाले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्नेगरी चालु अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले अर्थतन्त्र बलियो भए मात्र देशलाई विकास र समृद्धिमा लैजान सकिने भन्दै लगानी सम्मेलनले कोशी प्रदेश सरकारलाई ठूलो सफलता मिलेको बताउनुभयो । उहाँले उद्योग र व्यापारलाई फस्टाउन तथा निजी क्षेत्रलाई लगानीका लागि प्रेरित गर्न आवश्यक पर्ने सबै कानुन संशोधन गर्न सरकारलाई सुझाव दिनुभयो । यस्तै, किसानलाई आवश्यक पर्ने रासायनिक मल समयमै उपलब्ध गराउन माग गर्नुभयो ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र¬) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राष्ट्रिय प्रजतान्त्र पार्टी संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला लिम्बूले चालु अधिवेशनको सफलताको शुभकामना दिँदै सरकारले सबैको गरिमा राख्ने गरी बजेट बनाउनुपर्नेमा जोड दिनुभयो । कोशी प्रदेशसभाको अर्को बैठक सोमबार दिउँसो ३ बजे बस्ने उपसभामुख सिर्जना दनुवारले जानकारी दिनुभयो ।