चलचित्र‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

काठमाडौँ, ५ जेठः सहकारी संस्थाको रकम अपचलन भएको विषयलाई लिएर चलचित्र ‘महाभोज’ तयार गरिएको निर्देशक दिनेश राउतले बताउनुभएको छ । आइतबार दरबारमार्गस्थित राइजिङ मलस्थित चलचित्र भवनमा ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा निर्देशक राउतले समाचारमा आएका घटनाक्रम र सहकारी पीडतको विषय बुझेर चलचित्र तयार गरेको जानकारी दिनुभयो ।
“सहकारीमा एक परिवारले बचत गरेको रकम अपचलन हुँदा त्यसले परिवारसँगै समाजमा पार्ने असरलाई देखाएका छौँ । चलचित्रलाई समाजको ऐना पनि भनिन्छ, त्यसैले अहिलेको समसामयिक विषयलाई यस चलचित्रमा प्रस्तुत गरेका हौँ । यद्यपी यो सहकारीको विषयमा मात्र केन्द्रित छैन”, उहाँले भन्नुभयो ।
विदेश र काठमाडौँबाट गाउँ फर्किएका युवा र गाउँमै रहेका युवाको सोचलाई पनि चलचित्रमा प्रस्तुत गरिएको छ । सार्वजनिक गरिएको श्रव्यदृश्यमा सहकारीको नाममा ठगिएका सर्वसाधारणको पीडा, राजनीतिक पहुँचको आडमा गरिएको दुरुपयोग र सामाजिक असमानताको कुरालाई सशक्त रूपमा उठाइएको उहाँले बताउनुभयो ।
चलचित्रमा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतका कलाकारले अभिनय गर्नुभएको छ । ट्रेलरमा देखाइएझैँ, सहकारीमा जीवनभर रकम बचत गरेका मानिसले रकम फिर्ता नपाउँदा जीविकोपार्जनमा कठिनाइ भोग्नु परेको अभिनेत्री भुसालले बताउनुभयो ।
“म आफैँ सहकारी पीडित हुँ, मैले यसका विरुद्धमा आवाज उठाएँ, आन्दोलन गरँ,े तर न्याय अझैँ पाएकी छैन । यो चलचित्र हामीजस्ता अन्यायमा परेका पीडितको आवाज बनेको छ । यसले एउटा बुलन्द आवाज उठान गर्छ भन्ने मैले विश्वास लिएकी छु”, अभिनेत्री भुसालले भन्नुभयो ।
पत्रकार सम्मेलनमा सहभागी कलाकारले सहकारीसँग जोडिएको आफ्नो अनुभव सुनाएका थिए । विकास सुवेदीद्वारा लिखित कथा तथा पटकथामा तयार पारिएको चलचित्रलाई क्लकवर्क क्रियशन र पिक्चर फ्रेमले संयुक्त रूपमा निर्माण गरेको हो । उक्त चलचित्र यही जेठ १५ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ ।