कपिलवस्तुमा ग्याँस लिक भएर आगो लाग्दा दाजु बहिनीको मृत्यु


बुटवल । कपिलवस्तुको जयनगरमा खाना पकाउने क्रममा ग्याँस लिक भएर आगो लाग्दा दाजु बहिनीको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका वडा नम्बर ५ जयनगरमा ग्याँस लिक भएर आगो लाग्दा उनीहरुको मृत्यु भएको हो । पर्शुराम यादवका छोरा २४ वर्षीय शिवकुमार यादव र छोरी १८ वर्षीया सोनम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मोहनमणी अधिकारीले जानकारी दिए ।
प्रवक्ता अधिकारीका अनुसार बिहान करिब ७ बजेतिर खाना बनाउने क्रममा सिलिन्डरमा जोडिएको रेगुलेटरबाट ग्याँस लिक भई आगलागी भएको थियो । आगलागीबाट गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा ज्यान गएको अधिकारीले जानकारी दिए ।
ग्याँस लिक भएर गोठमा सल्किएको आगो इलाका प्रहरी कार्यालय हथिहवा दोहनीबाट गएको प्रहरी टोली र स्थानीयवासीले तत्काल नियन्त्रणमा लिएका थिए । प्रहरीका अनुसार आगोबाट शिव कुमारको शरीरको ८५ प्रतिशत र सोनमको शरीरको ७५ प्रतिशत भाग जलेको थियो ।