`

लगातार १० वटा बैठकमा अनुपस्थित भएपछि प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

Nepal One HD १४ जेठ २०८२ १८:५३
राजनीति

लुम्बिनी १४, जेठः लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त हुनुभएको छ । जनमत पार्टीबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य हुनुभएकी गुरुङ लगातार अनुपस्थित रहेको आधारमा पदमुक्त गरिएको हो ।

नेपालको संविधानको धारा १८० को खण्ड (घ) अनुसार प्रदेशसभामा पूर्वसूचना नदिइ लगातार १० वटा बैठकमा अनुपस्थित रहने सदस्यको पद रिक्त हुने व्यवस्था छ । सोही प्रावधानअनुसार सभामुख तुलाराम घर्ती मगरले गुरुङ पदमुक्त हुनुभएकोले सो स्थान रिक्त भएको घोषणा आज बसेको छैटौँ अधिवेशनको ११औँ बैठकमा गर्नुभएको हो ।

प्रदेशसभा नियमावली, २०७९ को नियम १९० को उपनियम १ मा पनि कुनै सदस्यको स्थान रिक्त भएमा सभामुखले त्यसको जानकारी सभालाई दिनुपर्ने व्यवस्था छ । पाँचौँ अधिवेशनअन्तरगत सम्पन्न ८३ वटा बैठकमध्ये उहाँ ३४ वटा बैठकमा मात्र सहभागी हुनुहुन्थ्यो । छैटौँ अधिवेशनमा भने उहाँ कुनै बैठकमा उपस्थिति हुनुभएको छैन । सो अधिवेशनमा ११ वटा बैठक सम्पन्न भइसकेका छन् ।

जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ताले सभामुखलाई पत्र पठाइ गुरुङले लगातार १० वटा बैठकमा अनुपस्थित भएकाले संविधानअनुसार उहाँको पद रिक्त घोषणा गर्न अनुरोध गर्नुुभएको थियो । गुरुङको पद रिक्त भएपछि लुम्बिनी प्रदेशसभामा अब ८७ सिटमध्ये ८६ सांसद छन् ।


प्रतिक्रिया