प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ


मकवानपुर, १९ जेठः बागमती प्रदेशसभामा आर्थिक वर्ष २०८२/८३ को प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ । आज अप्रान्ह बसेको बैठकमा मुख्यमन्त्री बहादुुरसिंह लामा तामाङले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुभयो ।
छलफलमा भाग दिँदै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्मकटेलले सरकारले ल्याइएको नीति तथा कार्यक्रम पूर्वग्राही ढङ्गबाट अघि बढेको आरोप लगाउनुभयो । उहाँले विपन्न, दलित, आदिवासी, थारु र चेपाङ समुदायको दीर्घकालीन उत्थानको लागि आएको गुरु योजना कार्यान्वयनका लागि बजेट कटौती गरिएको बताउनुभयो ।
उक्त बैठकमा प्रतिपक्षी राप्रपा संसदीय दलका नेता उद्धव थापा र नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले सरकारको नीति कार्यक्रममाथि टिप्पणी गर्दै प्रदेशभित्र रहेका लक्षित वर्गको हितका पक्षमा कार्यक्रम नरहेको आरोप लगाउनुभयो ।
सरकारको नीति कार्यक्रममाथि प्रदेशसभाका सदस्य क्रमशः रामकृष्ण चित्रकार, तारानारायण श्रेष्ठ, जयरामथापा, इन्द्रप्रसाद गोतामे, गङ्गानारायण श्रेष्ठ, उर्मिला नेपाल, उर्मिला सुनुवार, यूवराजदुलाल, शान्ता ढकाल, भारतीकुमारी पाठक, राजेन्द्र प्रजापति, माया देवीशर्मा, भरतबहादुर केसी, गिरबहादुर तामाङ, ओमकुमारी श्रेष्ठ, हरिप्रसाद सापकोटा र सुना परियारले धारणा राख्नुभयो ।
बैठकमा अर्थ तथा विकास समितिका सदस्यबाट उर्मिला नेपाललाई उद्योग तथा पर्यटन वातावरण समितिमा सदस्य मनोनयन गरी हेरफेर गरिएको जानकारी दिइएको थियो । उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभाको अर्काे बैठक मङ्गलबार अपराह्न १ बजे बस्ने गरी आजको बैठक स्थगित गर्नुभयो ।