`

ताप्लेजुङका ६ स्थानीय तहमा फैलियो लम्पी स्किन, किसान समस्यामा

Nepal One HD २३ असार २०८२ १०:१२
समाज

ताप्लेजुङ, २३ असार-ताप्लेजुङका ६ स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएकोे छ । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार जिल्लाका नौ मध्ये ६ वटा स्थानीय तहका पशुचौपायामा सङ्क्रमण देखिएको हो ।

केन्द्रका प्रमुख डा रोशन दाहालका अनुसार हालसम्म ३४ पशुबस्तुमा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ । सङ्ुक्रमण सिदिङ्वा गाउँपालिकाका– २, मेरिङदेनका १०, सिरिजङ्गाका ५, फक्ताङलुङका दुई, फुङलिङ नगरपालिकाका ७ र आठराई त्रिवेणी गाउँपालिकाका आठ पशुबस्तुमा देखिएको छ ।

सुरुमा फुङलिङ नगरपालिका–१० फुरुम्बु र वडा नं ७ तथा ८ दोखुमा देखिएको थियो । लक्षण देखिएपछि पशुपालकको सूचनाका आधारमा नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो । जिल्लाको मिक्वाखोला, पाथीभरा याङवरक र मैवाखोला गाउँपालिकामा भने हालसम्म सङ्क्रमण नदेखिएको जनाएको छ ।

सङ्क्रमण पुष्टि भएपछि सम्बन्धित स्थानीय तह, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र अन्य सम्बन्धित निकायले सङ्क्रमण नियन्त्रणका लागि रोकथाम उपाय अपनाएका छन् । हालसम्म चार हजार सात सय ५० डोज लम्पी स्किनविरुद्धको खोप वितरण भइसकेको बताइएको छ ।सङ्क्रमण फैलिन नदिनको लागि पशुपालकलाई सतर्क रहन र पशुमा लक्षण देखिएमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *