दोस्रो ‘बुढासुब्बा कप’ को उपाधि भिजन स्पोर्ट्स क्लबलाई


लिस्बन (पोर्चुगल), ३० असार : धरान फुटबल क्लब (धरान एफसी) पोर्चुगलले आयोजना गरेको सर्वाधिक धनराशिको दोस्रो ‘बुढासुब्बा कप’ सेभेन ए साइड फुटबल प्रतियोगितााको उपाधि भिजन स्पोर्ट्सक्लबले हात पारेको छ ।
लिस्बनस्थित भिटोरिया दी क्लबको खेलमैदानमा आइतबार सम्पन्न फाइनल खेलमा ड्रिप सिटी ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गर्दै भिजन स्पोर्ट्स क्लबले दोस्रो ‘बुढासुब्बा कप’ को उपाधि हात पार्न सफल भएको हो । उपाधि हात पारेसँगै क्लबले नगद पाँच हजार युरो, मेडल र प्रमाणपत्र प्राप्त गरेको छभने उपविजेता ड्रिप सिटीले दुई हजार ५०० युरो नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
सो अवसरमा प्रतियोगिताका विजेता तथा उपविजेतालाई पोर्चुगलका लागि पूर्वपर्यटनदूत रमेशकुमार गुरुङले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा युरोपका विभिन्न मुलुकका नेपाली सङ्घसंस्था र क्लबका गरी २० टोलीको सहभागिता रहेको क्लबका संयोजक अरुण राईले बताउनुभयो ।