‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’का कलाकारसँग सभामुख घिमिरेको अन्तरक्रिया


काठमाडौँ, ४ साउनः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ‘इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’को आयोजनामा सञ्चालित पहिलो अन्तरराष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’का कलाकारसँग अन्तरक्रिया गर्नुभएको छ ।
कार्यक्रममा सभामुख घिमिरेले ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’जस्ता सांस्कृतिक कार्यक्रमले विश्वभर छरिएका नेपाली समुदायका कला, संस्कृति र प्रतिभालाई अन्तरराष्ट्रियस्तरमा उजागर गर्न महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमले नेपाली भाषा, संस्कार र सङ्गीतलाई प्रवास मात्र होइन, विश्व मञ्चमा पनि पहिचान दिलाउने अवसर प्रदान गरेका छन् ।” नयाँ पुस्तामा नेपाली भाषा र सांस्कृतिक गर्वको भावना जागृत गराउन यस्ता सिर्जनात्मक प्रयास प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “प्रवासमा रहेका नेपालीको सामाजिक एकता, सांस्कृतिक संरक्षण र मुलुकको विकासमा हुने योगदानको उच्च मूल्याङ्कन गर्नुपर्छ ।”
इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका कार्यकारी निर्देशक चुणामणि भट्टराईले दक्षिण अफ्रिका र अन्टार्कटिकाबाहेक संसारभरका नेपालीहरू यस अभियानसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “करिब ६० मुलुकका नेपालीले यसमा योगदान गरेका छन् । तेइस मुलुकका नेपाली मूलका कलाकार नेपाल आउनुभएको थियो । अहिले पनि ७ मुलुकका कलाकार उत्कृष्ट १० भित्र छनोट भएका छन् ।”
सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) का सञ्चालक सदस्य फुलमान बलले दुवै रियालिटी शोले सांस्कृतिक र राष्ट्रियताबीचको सम्बन्धलाई जोड्न सफल भएको बताउनुभयो ।
इन्ट्रा फाउण्डेसनका नेपाल च्याप्टर अध्यक्ष बाबुकृष्ण कार्कीले दुवै रियालिटी शोमार्फत विश्वभर रहेका नेपाली समुदायका कला, प्रतिभा र सांस्कृतिक सम्पदालाई अन्तरर्राष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यमा सफलता प्राप्त गरेको बताउनुभयो । कार्यक्रममा दुवै रियालिटी शोमा उत्कृष्ट १० मा पर्न सफल कलाकार, प्रशिक्षक, कोरियोग्राफरलगायत ४० भन्दा बढी प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।