`

सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै दरमखोला हाइड्रो इनर्जी

Nepal One HD ८ साउन २०८२ १२:३४
अर्थ समाचार

काठमाडौँ । साउन १५ गतेदेखि दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपश्चात् अब सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो । 

१५ गतेदेखि खुल्न लागेको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने जनाइएको छ । यसको निष्कासन बन्द छिटोमा साउन १९ गते र ढिलोमा साउन २९ गते हुने जनाएको छ । 

कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत बराबरको शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको २ लाख ९१ हजार ९५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ। 
यसअघि नै कम्पनीले आफ्ना कर्मचारीका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर बाँडफाँट गरिसकेको छ।

अहिले निष्कासन गर्न लागेको अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्कासन गर्न लागेको हो।

यस कम्पनीले निर्माण गरिरहेको ९.६ मेगावाटको दरम खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट अनुमानित लागत २४ करोड ७९ लाख रुपैयाँ रहेको छ। 

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *