समिक्षा अधिकारी र सचिन भट्टराईको तीज गीत ‘कस्की छोरी होला’ सार्वजनिक


मौलिकता, संस्कृति र सिर्जनशीलतालाई आत्मसात् गर्दै गायिका समिक्षा अधिकारी र गायक-सर्जक सचिन भट्टराईको स्वरमा सजिएको बहुप्रतिक्षित तीज गीत ‘कस्की छोरी होला’ भर्खरै समिप इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत विश्वव्यापी रूपमा सार्वजनिक भएको छ।
विगत केही वर्षदेखि तीज गीतको नाममा छाडापन र मौलिक संस्कारमा आघात पुर्याउने सिर्जनाहरूले बजार ढाकिरहेको बेला, ‘कस्की छोरी होला’ एक सशक्त, मौलिक र भावनात्मक तीज गीतको रूपमा दर्शक-श्रोतामाझ प्रस्तुत भएको छ। गीतमा गायक सचिन भट्टराईले शब्द तथा संगीत दिएका छन् भने लोकप्रिय गायिका समिक्षा अधिकारीको सशक्त स्वरले गीतलाई विशेष बनाएको छ।
गीतको म्युजिक भिडियो मौसम हिमालीको निर्देशनमा तयार भएको हो। भिडियोमा सुनिल न्यौपाने, मीना बर्तौला, अर्जुन सापकोटा र जुना बि.सी. को अभिनय देख्न सकिन्छ। छायांकन नवराज उप्रेती र सम्पादन मनोज कार्कीले गरेका हुन्। एच.बी.एन. किस्मतको एरेन्जमेन्ट रहेको गीतमा नेपाली नारीको सम्मान, परम्परा र संस्कृतिको झल्को प्रस्ट देखिन्छ।
गीत सार्वजनिक भएसँगै, गायक सचिन भट्टराईले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन्: “मेरो आफ्नै शब्द-संगीतमा रहेको गीत, मेरो र समिक्षा अधिकारीको आवाजमा, चर्चित गायक–मोडल अर्जुन सापकोटा, सुनिल न्यौपाने, मीना बर्तौला र जुना विश्वकर्माको अभिनयमा तयार पारिएको नयाँ तीज गीत ‘कस्की छोरी होला’ हेरेर कस्तो लाग्यो? सल्लाह, सुझाव र प्रतिकृया दिन नभुल्नु होला।”
गीतले मौलिक संगीतको संरक्षण, महिला सशक्तिकरणको सन्देश, र नेपाली तीजको सांस्कृतिक मूल्यलाई उजागर गर्ने अपेक्षा गरिएको छ। ‘कस्की छोरी होला’ ले श्रोताको मन छुने मात्र होइन, तीज गीतको नयाँ मापदण्ड पनि स्थापित गर्ने विश्वास लिई सार्वजनिक गरिएको हो।सचिनका बनैमा स्याउला छ, युके लान्छु रेलीमै, छड्के छाता, चिन्न सकिन, छायाँ सिसाको लगायतका गीतहरू दर्शक श्रोताले सर्वाधिक रुचाएका गीत हुन् ।