प्रधानमन्त्रीले दशरथ रंगशालाबाट आज ‘फुटबल फर स्कूल्स’कार्यक्रमको उद्घाटन गर्दै


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘फुटबल फर स्कूल्स’ कार्यक्रमको उद्घाटन गर्ने भएका छन् ।
फिफाको वैश्विक पहल ‘फुटबल फर स्कूल्स’ कार्यक्रम आजबाट नेपालमा पहिलोपटक सुरु हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज साउन १५ गते दशरथ रंगशालाबाट दिउँसो १ बजे उक्त कार्यक्रम औपचारिक रुपमा सुरु गर्दै छ ।
फिफा र युनेस्कोको सहकार्यमा सञ्चालित यो कार्यक्रमले विद्यालय तहका बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र नैतिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
कार्यक्रमलाई आकर्षक बनाउन चर्चित गायिका आस्था राउतले विशेष प्रस्तुति दिने भएकी छन्। यसबारेको सम्झौता अखिल नेपाल फुटबल संघ (एन्फा) र आस्था राउतबीच सम्पन्न भएको छ।
यो कार्यक्रमले नेपाली विद्यालयहरूमा फुटबल शिक्षासँगै मनोरञ्जन र शिक्षाको उत्कृष्ट संयोजनको सुरुवात हुने अपेक्षा गरिएको छ।
यो कार्यक्रम देशभरका ७७ जिल्लाका १,०७२ विद्यालयमा सञ्चालन हुनेछ। यसका लागि एन्फाले फिफाबाट प्राप्त ३२,६४० वटा एडिडास ब्रान्डका फुटबल वितरण गर्नेछ। एन्फा महासचिव किरण राईका अनुसार यी फुटबलको मूल्य प्रतिगोटा कम्तीमा ५,००० रुपैयाँ पर्छ। साथै, फिफाले कार्यक्रम सञ्चालनका लागि ५०,००० अमेरिकी डलर बजेट उपलब्ध गराएको छ।
कार्यक्रमले ४ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई फुटबलमार्फत अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैंगिक समानता र सामाजिक समावेशीताजस्ता जीवनोपयोगी सीप सिकाउने लक्ष्य राखेको छ।