महिला मृत भेटिएको घटनामा श्रीमान र सासू-ससुरा पक्राउ, आत्महत्या दुरुत्साहनको आरोप


कञ्चनपुर । घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी एक युवतीको घटनामा अनुसन्धान गर्न प्रहरीले उनका पति, सासू र ससुरालाई पक्राउ गरेको छ ।
मृत भेटिएकी कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ की १७ वर्षीया सम्झना भट्टका श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त भट्ट र सासू किरण भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
सम्झनाका माइती पक्षको जाहेरीका आधारमा प्रहरीले उनका श्रीमान २४ वर्षीय पवनलाई पक्राउ गरेको थियो । लगत्तै सासू-ससुरालाई पक्राउ गरिउको हो ।
‘आत्महत्या दुरुत्साहनमा अनुसन्धानका लागि मृतकका श्रीमान्सहित सासूससुरालाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौँ’, प्रहरी नायब उपरीक्षक बोहराले भने।
बेलडाँडी-२ की सम्झना आइतबार सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उमाइती पक्षले श्रीमान् तथा परिवारका सदस्यहरूले घरेलु हिंसा गर्ने, दाइजोको निहुँमा यातना दिने र मानसिक तनाव दिने गरेको आरोप लगाएका छन् । सोही कारण सम्झनाले आत्महत्याको बाटो रोजेको उनहरुको आरोप छ । सम्झना र पवनले करिब छ महिनाअघि मात्रै प्रेम विवाह गरेका थिए ।
गत शनिबार सम्झना र पवनबीच झगडा भएको थियो । उक्त झगडापछि त्यही दिन दुवैजना बेलडाँडी प्रहरी चौकीमा पुगेका प्रहरीले जनाएको छ । प्रहरीले दुवैजनालाई सम्झाई-बुझाई घर पठाएको थियो । त्यसको भोलिपल्ट सम्झना घरमै मृत फेला परेकी हुन् । मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।