नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको भन्दै चाडैं सञ्चालनमा आउने बताएका हुन् ।
‘ नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने छ’, प्रधानमन्त्री ओलीले भनेका छन् । उनका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ ।
सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै सरकारले केही दिन अघि सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनका लागि दस्तुर निर्धारण गरेको थियो । जसअनुसार सङ्घीय राजधानी प्रवेश गर्ने कार र भ्यानले रु ६५ र बाहिरिँदा रु ६० तिर्नुपर्नेछ । साथै मिनिबस र मिनिट्रकलाई राजधानी आउँदा रु ११५ र बाहिरिँदा रु ८०, बस र ट्रकले आउँदा रु २६० र फर्कँदा रु २०० तिर्नुपर्नेछ । त्यसैगरी भारी उपकरणका सवारीसाधनको हकमा भने काठमाडौँ आउँदा रु ६०० र फर्कँदा रु २०० दस्तुर निर्धारण गरिएको छ ।
सुरुङमार्ग सञ्चालनमा आएपछि यात्रामा समयको बचत हुनुका साथै ढुवानी मूल्य पनि घट्ने अपेक्षा गरिएको छ । कूल २ दशमलव ६८८किलोमिटर लम्बाईको उक्त सुरुङमार्गमा तीन दशंमलव पाँच मिटर चौडाइका दुई वटा लेन छन् । सुरुङमार्गको दुवैतर्फ नाली पनि बनाइएको छ ।