पोखराको फेवाताल संरक्षणमा प्रदेश सरकारको ध्यान केन्द्रित : मुख्यमन्त्री पाण्डे


लेखनाथ (कास्की), ३ भदौः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय आर्कषणको केन्द्रका रूपमा रहेको पोखराको फेवाताल संरक्षणमा प्रदेश सरकारको ध्यान केन्द्रित रहेको बताउनुभएको छ ।
टे«किङ्ग एजेन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित ‘ट्रेकिङ्ग गाइड तथा ट्रेकिङ्ग पोटर गाईड’सम्बन्धी १५ दिने तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले देशकै पर्यटकीय गहनाको रूपमा रहेको फेवाताल संरक्षणमा सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
पर्यटकीय राजधानी घोषणासँगै यहाँका पर्यटकीय गन्तव्यको संरक्षण र विकास गर्ने दायित्व प्रदेश सरकारको भएको बताउँदै मुख्यमन्त्री पाण्डेले यस्ता पर्यटनसँग सम्बन्धित संस्थाको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण रहेको बताउनुभयो । पर्यटकीय राजधानी पोखरा र आसपासका पर्यटकीय गन्तव्यमा पर्यटकको बसाइँ लब्याउन सरकार र पर्यटन व्यवसायीको सहकार्यमा प्रवर्द्धनात्मक कार्यक्रम अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
मुख्यमन्त्री पाण्डेले फेवातालको मापदण्डभित्र परेका तर व्यक्तिको नाममा रहेका जग्गाको मुआब्जा दिइने बताउनुभयो । “फेवातालको मापदण्ड कायम गर्ने विषयमा अदालतको आदेश कार्यान्वयनका लागि हाल तालको सिमाङ्कन गर्ने कार्य भइरहको छ । मापदण्डभित्र व्यक्तिको लालपूर्जा भएका जग्गाको मुआब्जा दिने काम पनि हुन्छ”, उहाँले भन्नुभयो ।
प्रदेश वन तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पर्यटकीय राजधानी पोखरामा सञ्चालित यस्ता तालिमले स्वदेशी तथा विदेशी पर्यटकलाई पदमार्गमा जान सजिलो बनाउने र रोजगारीको अवसरसमेत सिर्जना गर्ने बताउनुभयो । तीन सय जनाले एकैपटक यस्तो तालिम लिँदा गण्डकी प्रदेशको पर्यटन विकास र प्रवर्द्धनमा सहयोग पुग्ने उहाँको विश्वास थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पर्यटन बोर्ड नेपालका पूर्वबोर्ड सदस्य गणेशबहादुर भट्टराई, टान गण्डकीका सल्लाहकार डम्बर केसी, अजय ढकाल, मणिराज लामिछाने, इन्द्रकाजी गुरुङ, तीर्थ सुवेदी, कृष्ण आचार्यलगायतले पर्यटन विकासमा सरकार र पर्यटन व्यवसायीको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।