`

नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन

Nepal One HD ५ भदौ २०८२ २१:३८
खेलकुद

काठमाडौँ, ५ भदौः नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन गरिएको छ । समितिको संयोजकमा एनओसीका निवर्तमान अध्यक्ष तथा मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधान चयन हुनुभएको छ ।

कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलना नौ सदस्यहरूको विभिन्न उपसमिति गठन भएको जानकारी दिइयो । समितिको सदस्यहरूमा राजिवविक्रम शाह, समिम मियाँ अन्सारी, सुनिल श्रेष्ठ, निलेन्द्रराज श्रेष्ठ, पुष्पदास श्रेष्ठ, अनिल शर्मा, वृजेन्द्र हमाल र रवि राजकर्णिकार हुनुहुन्छ ।

नेपाली खेलकुदको नियमनकारी निकाय युवा तथा खेलकुद मन्त्रालयले दिएको निर्देशन र कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) कै पहलमा ओलम्पिक भवनमा लागेको ताला खोलेर ओलम्पिकको तदर्थ समितिलाई साँचो हस्तान्तरण गरिएको थियो । राखेपको एक सय १९औँ बोर्ड बैठकले जीवनराम श्रेष्ठले गराएको निर्वाचनलाई अवैधानिक र गैरकानुनी भन्दै सो निर्वाचनलाई खारेज गरेको थियो । पत्रकार सम्मेलनमार्फत आजै आगामी कार्ययोजना पनि सार्वजनिक गरिएको छ ।

तदर्थ समिति गठनबारे आईओसी तथा सम्बन्धित सरोकारवाला निकायलाई जानकारी गराई समन्वय गर्ने, समस्या समाधानका लागि अन्तरराष्ट्रिय ओलम्पिक कमिटी, सदस्य खेल सङ्घ, खेलाडी, खेलकर्मी र सरोकारवालासँग छलफल गरी दीर्घकालीन उपाय खोज्ने तथा ओलम्पिक कार्यक्रम अन्तर्गतका बृहत् खेलकुद प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित गर्न आवश्यक पहल गर्ने योजना रहेको पत्रकार सम्मेलनमा जानाकारी दिइयो ।

त्यसैगरी जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा नेपालको सहभागिताका लागि परिषद् र सङ्घहरूसँग समन्वय गरी खेलाडी छनोट तथा विशेष प्रशिक्षणको तयारी गर्ने, एनओसीसँग आबद्ध खेल सङ्घहरूको समस्या समाधानका लागि पहल गर्ने एवं विधानअनुसार साधारणसभाबाट निष्पक्ष, पारदर्शी र स्वतन्त्र ढङ्गले निर्वाचन गराइ नयाँ नेतृत्व चयन गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *