`

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा किन पुग्यो सरकार ?

Nepal One HD १९ भदौ २०८२ १६:४२
विज्ञान-प्रविधि

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी आग्रहलाई बेवास्ता गर्दै दर्ता प्रक्रियामा नआएका फेसबुक लगायतका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने बताएका छन् । उनले नेपालको कानुन र सार्वभौमिकतालाई चुनौती दिने गरी ती कम्पनीहरूले ‘ठूला कुरा’ गरेको भन्दै सरकारले यो कदम चाल्न बाध्य भएको बताएका छन् ।

बिहीबार संचारकर्मीसँगको कुराकानीमा गुरुङले भने, ‘हामीले दर्ता गर्न आऊ भन्दा उनीहरूले नेपालको संविधान र कानुन नमान्ने जस्ता ठूला कुरा गरे । पटक–पटकको आग्रह र कूटनीतिक पहललाई समेत बेवास्ता गरेपछि हामीले बन्द गर्ने निर्णय गरेका हौं।’

सरकारले सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो । सोही निर्देशिका अनुसार, नेपालमा सञ्चालित सबै सामाजिक सञ्जालले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुनुपर्ने प्रावधान राखिएको थियो ।

मन्त्रालयले सार्वजनिक सूचना जारी गरी सात दिनभित्र दर्ता प्रक्रियामा आउन समयसीमा दिएको थियो । ‘हामीले दिएको समयसीमाभित्र जो–जो आए, उनीहरू चल्छन् । जो आएनन्, उनीहरूलाई आजैदेखि निष्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकिएको छ,’ उनले भने ।

सरकारको यो निर्णयले फेसबुक, एक्स (ट्वीटर), इन्स्टाग्राम र युट्युब जस्ता प्रमुख सामाजिक सञ्जालहरू प्रभावित हुनेछन् । मन्त्री गुरुङले दर्ता प्रक्रियामा नआउनुमा ती कम्पनीहरूको गैरजिम्मेवारपन र नेपाली कानुनप्रतिको अनादर प्रमुख कारण रहेको बताए ।

‘दर्ता गर्न कुनै शुल्क लाग्दैनथ्यो, केवल नेपालमा सम्पर्क कार्यालय र गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने थियो,’ उनले भने, ’त्यति पनि गर्न नमान्नु भनेको उनीहरूको नियतमाथि प्रश्न उठ्नु हो ।’ यद्यपि, दर्ता प्रक्रियामा आएलगत्तै बन्द गरिएका सामाजिक सञ्जालहरू पुनः सञ्चालनमा आउन सक्ने ढोका भने सरकारले खुला राखेको छ ।

सूचीकृत यी पाँच सञ्जाल निरन्तर चल्ने

–टिकटक

–भाइबर

–निम्बज

–वीटक

–ओपोलाइभ

सूचीकृत नभएका यी सञ्जाल बन्द हुने

–फेसबुक

–म्यासेन्जर

–इन्स्टाग्राम

–युट्युब

–ह्वाट्सएप

–ट्वीटर

–लिंक इड

–स्न्याप च्याट

–रेडिट

–डिस्कर्ड

–पिन्ट्रेस्ट

–सिग्नल

–थ्रेड

–वी च्याट

–कोरा

–सम्ब्लर

–क्लब हाउस

–मास्टर डन

–रम्बल

–मि वी

–मि भिके

–लाइन

–इमो

–जालो

–सोल

–हाम्रो पात्रो

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *