जापानका प्रधानमन्त्री इशिबाद्वारा राजीनामा दिने घोषणा

विश्व

जापान । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आइतबार आफू सत्तामा बसेको एक वर्ष नपुग्दै पदबाट हट्ने घोषणा गरेका छन्।
उनको घोषणाले विश्वको चौथो ठूलो अर्थतन्त्रका लागि नयाँ अनिश्चितता थपेको छ । यसबेला जापान बढ्दो खाद्य मूल्यसँग जुधिरहेको छ र आफ्नो महत्त्वपूर्ण अटो क्षेत्रमा अमेरिकी भन्सार शुल्कको असर बेहोरिरहेको छ ।
“अब अमेरिकी करसम्बन्धी वार्ता निष्कर्षमा पुगेको छ, म विश्वास गर्छु यो उपयुक्त क्षण हो”, इशिबाले पत्रकार सम्मेलनमा भने, “मैले पछि हट्ने र नयाँ पुस्ताका लागि बाटो बनाउने निर्णय गरेको छु ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बिहीबार जापानी अटोहरूमा कर घटाउने आदेशमा हस्ताक्षर गरेका थिए । वासिङ्टनले जुलाईमा टोकियोसँग भएको व्यापार सम्झौता कार्यान्वयन गर्न अघि बढेसँगै यो कदम आएको हो ।
यद्यपि, जापानी अटोहरूले हालको २७ दशमलव पाँच प्रतिशतको सट्टा अब १५ प्रतिशत करm तिर्नुपर्नेछ, जसले अझै पनि प्रमुख उद्योगमा ठूलो दबाब सिर्जना गर्ने बताइएको छ ।
लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक पार्टी ९एलडिपी० को सुरक्षित नेताका रूपमा परिचित ६८ वर्षीय इशिबा सन् २०२४ सेप्टेम्बरमा पार्टी नेतृत्व जितेर सन् २००० पछि एलडिपीको १० औँ प्रधानमन्त्री बनेका थिए ।
मिडिया रिपोर्टअनुसार, इशिबाले पार्टी विभाजनलाई रोक्न राजीनामा गर्ने निर्णय गरेका थिए । शनिबार राति कृषिमन्त्री र एक पूर्वप्रधानमन्त्रीले उनलाई स्वेच्छिक रूपमा पद त्याग गर्न आग्रह गरेको थिए। गत हप्ता पार्टीका नम्बर दुई हिरोशी मोरियामासहित चार वरिष्ठ अधिकारीले पनि राजीनामा दिन सुझाव दिएका थिए।
जुलाईमा भएको माथिल्लो सदनको निर्वाचनमा हारपछि विपक्षीहरूले इशिबालाई चुनावी नतिजाको जिम्मेवारी लिएर पद त्याग गर्न दबाब दिइरहेका थिए । यस कदमलाई ८४ वर्षीय प्रभावशाली पूर्वप्रधानमन्त्री तारो एसोले समेत समर्थन गरेको जनाइएको छ ।
पार्टी नेताका रूपमा इशिबाको कार्यकाल सन् २०२७ सेप्टेम्बरसम्म रहने प्रावधान थियो । तर अब उत्तराधिकारीका लागि प्रतिस्पर्धा सुरु हुने देखिएको छ । इशिबाका प्रमुख प्रतिद्वन्द्वी साने ताकाइचीले मङ्गलबार प्रतिस्पर्धामा उत्रने घोषणा गरे । उनलाई कट्टर राष्ट्रवादी नेताका रूपमा हेरिन्छ । सन् २०२४ को नेतृत्व निर्वाचनमा उपविजेता बनेका हाकिस ताकाइची भने मतदातामाझ कम लोकप्रिय देखिएका छन् ।
अगस्टको अन्त्यमा गरिएको निक्केई सर्वेक्षणले ताकाइचीलाई इशिबाको सबैभन्दा उपयुक्त उत्तराधिकारीका रूपमा देखाएको छ । त्यसपछि कृषिमन्त्री सिन्जिरो कोइजुमीको नाम आउँछ । तर सर्वेक्षणमा सहभागी ५२ प्रतिशतले नेतृत्व प्रतिस्पर्धा अनावश्यक भएको बताएका छन् ।
यसैबीच, सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले इशिबालाई समर्थन जनाउँदै ‘इशिबा डन्ट क्विट’ ह्यासट्यागमार्फत पदमा रहिरहन आग्रह गरेका छन् ।
एलडिपीले सन् १९५५ देखि लगभग निरन्तर शासन गर्दै आएको भए पनि हाल मतदाताहरूले पार्टी त्यागेर लोकप्रिय सान्सितो जस्ता सीमान्त समूहतर्फ आकर्षित भइरहेका छन् । यसको कारण बढ्दो मूल्य, विशेष गरी चामल, खस्कँदो जीवनस्तर र पार्टीभित्रका भ्रष्टाचार घोटालाप्रति असन्तोष रहेको विश्लेषकहरूले बताएका छन् ।
लगनशील राजनीतिज्ञ इशिबा विगत वर्ष आफ्नो पाँचौँ प्रयासमा ‘नयाँ जापान’ को वाचा गर्दै एलडिपी नेता निर्वाचित भएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट