जेनजी आन्दोलनबारे अमेरिका, बेलायतसहित नौं देशको आग्रह : मौलिक अधिकार सुनिश्चित गर


काठमाडौं । नेपालस्थित नौं देशका राजदूतावासले जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट १९ जनाको मृत्यु भएको भन्दै गहिरो दुःख व्यक्त गरेका छन् ।
सोमबार राति अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी, र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूबाट संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले शान्तिपूर्ण सभा र अभिव्यक्ति स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति दृढ समर्थन रहेको उल्लेख गरेका छन् ।
उनीहरुले सबै पक्षलाई संयम अपनाउन र परिस्थितिलाई थप बिग्रन नदिइ शान्तिपूर्ण समाधान गर्न र मौलिक अधिकारहरुको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका छन् ।
‘हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ । हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
हेर्नुस् संयुक्त प्रेस विज्ञप्ति
अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी, र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूबाट ः
हामी काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा आज देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौं । यी घटनाहरूका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौं घाइते भएकोमा हामी संवेदनशील भएका छौं । पीडित परिवारजन, प्रभावित व्यक्तिहरूप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौं ।
साथै, घाइते सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ । हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं ।