वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रिपरिषद् गठन गर्न पूर्वराष्ट्रपति भण्डारीको अपील


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको राजनीतिक परिस्थितिको सही निकासका लागि संविधानको भावना र मर्मलाई आत्मसात गर्दै पलहकदम अघि बढाउन राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेकी छन् ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै संवैधानिक प्रक्रियामार्फत अर्को मन्त्रिपरिषद् गठन प्रक्रिया अगाडि बढाउनु पर्ने उनको भनाइ छ ।
अहिलेको अवस्थामा राष्ट्रपति, प्रतिनिधिसभाका सभामुखको समन्वयका आधारमा वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रिपरिषद् गठन प्रक्रिया अगाडि बढ्न सक्ने भएकाले राष्ट्रपतिले यो पहलकदमी लिनु आवश्यक रहेको भण्डारीको धारणा छ ।
“प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रपतिले स्वीकृत गरेपछिको अवस्थामा सरकार काम चलाउ छ, तर हामीसँग मुलुकको संविधान बमोजिम गठित राष्ट्रपति र जननिर्वाचित संसद् जस्ता संस्थाहरू कायम नै छन् । त्यसकारण, अहिलेको अवस्थामा राष्ट्रपति, प्रतिनिधिसभाका सभामुखको समन्वयका आधारमा वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रिपरिषद् गठन प्रक्रिया अगाडि बढाउनु पर्दछ,” विज्ञप्तिमा भनिएको छ, “यस प्रक्रियामा सम्माननीय राष्ट्रपतिले पहलकदमी लिनु पर्दछ । संविधानभित्रबाट नै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नु पर्दछ ।”
त्यसो गर्दा आन्दोलनकारी जेनजी पुस्ताको माग र चाहनालाई अभिव्यक्त गर्ने कुरामा गम्भीरतापूर्वक ध्यान पुर्याउनुपर्ने भनाइ उनको छ ।
उनले एकैदिन एकै समयमा सिहंदरबारदेखि निजी घरसम्म किन जलाइयो भन्ने प्रश्नको जवाफ खोज्नसमेत सम्बद्ध सबैमा आह्वान गरेकी छन् । “शान्तिका अग्रदूत गौतमबुद्ध जन्मेको हाम्रो देशमा किन बारबार द्वन्द्व र हिंसा भइरहेको छ ? एकैदिन एकै समयमा किन राष्ट्रपति भवन, संसद् भवन, मुलुकको प्रशासिक केन्द्रको रूपमा रहेको ऐतिहासिक सिंहदरबार, न्याय सम्पादनको उपल्लो निकाय सर्वोच्च अदालत जल्छन्, अंगार हुन्छन् र खरानी हुन्छन् ? हाम्रा ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदामाथि किन आगो लगाइन्छ ?,” विज्ञप्तिमा भनिएको छ, “देशका जिम्मेवार राजनीतिक नेतृत्वका घर–आवास, हाम्रो देशका उद्योग व्यवसाय, सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी किन र कसरी एकै समयमा भएको हो ?”
सबै राजनीतिक दलहरूले विगतको गम्भीर समीक्षा गरी मुलुकको आर्थिक नीति, योजना र कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नैपर्ने भनाइ भण्डारीको छ । “राजनीतिक दल एवम् यसका नेता, कार्यकर्ता र सदस्यको ठूलो परीक्षा विषम राजनीतिक परिस्थिति उत्पन्न हुँदा नै हुने हो । एउटा लोकतान्त्रिक र क्रान्तिकारी राजनीतिक व्यक्तिले अप्ठ्यारो राजनीतिक अवस्था उत्पन्न भयो भन्दैमा पलायन हुने, निष्क्रिय हुने र आदर्श प्रतिकूल हुने टीकाटिप्पणी गर्न सुहाउँदैन,” उनले थप भनेकी छन्, “पार्टीहरूले संस्थागत ढंगले आफ्नो दृष्टिकोण स्पष्ट गरी पार्टीभित्रको एकता, हार्दिकता र समन्वयलाई बलियो बनाएर सहयात्री राजनीतिक दलसँग समेत सामन्जस्यता कायम राख्दै मुलुकलाई सही दिशामा हिँडाउन दृढ अठोट गर्नु पर्दछ । यस विषयमा सम्बद्ध सबैको थप ध्यान पुग्नेछ भन्ने मलाई लागेको छ ।”