`

स्रोत नखुलेको नगद र गरगहनासहित एक जना नियन्त्रणमा

Nepal One HD २७ भदौ २०८२ २०:३४
समाज

धुलिखेल (काभे्रपलाञ्चोक) – बिपी राजमार्ग अन्तर्गत यहाँको नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेँसीमा नेपाली सेना र नेपाल प्रहरीको संयुक्त सुरक्षा टोलीले गाडी जाँच गर्ने क्रममा स्रोत नखुलेको नगद रकम र सुनको गरगहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार आज दिउँसो काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको बाप्र ०१–००६ ख ९१७३ नं को विद्युतीय गाडीमा नगद तीन लाख ५० हजार ३०० रुपैयाँ र १२ लाख २६ हजार ९४ रुपैयाँ उनन्चालिस पैसा बराबरको गरगहनासहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार गाडीमा सवार सिरहा जिल्ला भगवानपुर गाउँपालिका–२ बस्ने १८ वर्षीय नरेशकुमार यादवलाई नगद र गरगहनासहित नियन्त्रणमा लिइएको हो । “यादवलाई खानतलासी गर्दा निजले बोकेको झोलाबाट स्रोत नखुलेको नगद र गरगहना बरामद गरेका हौँ”, प्रनाउ घलेले भन्नुभयो ।

यादवको साथबाट बरामद गरेको गरगहनामा हालको बजार मूल्यअनुसार एक लाख ६१ हजार ८८८ रुपैयाँ १२ पैसा पर्ने ७५ लालको छड्के तिलहरी थान–१, दुई लाख ५९ हजार २१ रुपैयाँ पर्ने १२ दशमलव ६ लालको मंगलसुत्र थान–१, तीन लाख तीन हजार ९६९ रुपैयाँ ६४ पैसा पर्ने ६३ दशमलव तीन लालको बेरुवा औँठी थान–१ र पाँच लाख एक हजार २०५ रुपैयाँ ६३ पैसा पर्ने सिक्री थान ३ रहेको प्रहरीले जनाएको छ । यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *