`

अर्थ, ऊर्जा र गृहमन्त्रीले लिए शपथ

Nepal One HD ३० भदौ २०८२ १२:३२
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्रीलाई नियुक्त गरेकी छन् । पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीको शपथ लिएका हुन् ।

अर्थमन्त्रीमा खनाल, घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अर्याललाई गृह र कानुनमन्त्रीमा नियुक्त भएका हुन् । सोमबार राष्ट्रपति भवन शीतल निवासको खण्डहरअगाडि पाल टाँगेर मन्त्रीहरूलाई शपथ दिलाइएको थियो । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत उच्चपदस्थ अधिकारी उपस्थित थिए ।

खनाल र घिसिङ दुवै विगतमा पाएको जिम्मेवारीमा सुशासन कायम गर्ने अधिकारीका रूपमा चिनिन्छन् । उनीहरु दुबै जेनजी आन्दोलनकारी रुचाएका व्यक्ति हुन् । जेन–जी आन्दोलनपछि उनीहरूको मागलाई निष्कर्षमा पुर्‍याउन अधिवक्ता अर्यालले भूमिका खेलेका छन् । अन्य मन्त्रीहरूको छनोटमा पनि प्रधानमन्त्री कार्कीले आन्दोलनकारी जेन–जी युवासँग परामर्श गरिरहेकी छन् । जेन–जी आन्दोलनको मागअनुसार पूर्व प्रधानन्यायाधीश कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन् । प्रधानमन्त्री बनेको तेस्रो दिनमा उनले केही मन्त्री छानेकी हुन् । शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आइतबार सिंहदरबार पुगेर पदबहाली गरेकी हुन् ।

मन्त्रीहरुको शपथमा पनि देखिएनन् सभामुख घिमिरे, राष्ट्रियसभा अध्यक्ष दाहाल भने सहभागी
काठमाडौं । सभामुख देवराज घिमिरे नवनियुक्त मन्त्रीहरुको शपथ समारोहमा पनि अनुपस्थित भएका छन् । वर्तमान सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी फागुनमा निर्वाचन तोकेपछि असन्तुष्ट बनेका उनी मन्त्रीहरुको शपथमा पनि नगएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोहमा पनि उनी गएका थिएनन् । शीतल निवासले सभामुख अनुपस्थित रहने जानकारी यसअघि नै पाएपछि उनका लागि कुर्सीको व्यवस्था गरेको थिएन । मन्त्रीहरुको शपथ समारोहमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल भने सहभागी भएका छन् । उनी प्रधानमन्त्री कार्कीको शपथमा भने देखिएका थिएनन् ।

मन्त्रीहरुको शपथ कार्यक्रममा बाबुराम भट्टराई बाहेक अन्य पूर्वप्रधानमन्त्रीहरु पनि देखिएका छैनन् । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू पनि समारोहमा गएका छैनन् । अर्थमन्त्रीमा खनाल, घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अर्याललाई गृह र कानुनमन्त्रीमा नियुक्त भएका हुन् ।

सोमबार राष्ट्रपति भवन शीतल निवासको खण्डहरअगाडि पाल टाँगेर मन्त्रीहरूलाई शपथ दिलाइएको थियो । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत उच्चपदस्थ अधिकारी उपस्थित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *