`

तालिवानको रिहाइपछि दोहा पुगेका बेलायती वृद्ध दम्पती स्वदेश फर्किने

Nepal One HD ४ असोज २०८२ १८:४३
विश्व

अफगानिस्तानमा करिब आठ महिनाको हिरासतमा रहेका एक वृद्ध बेलायती दम्पती शनिबार स्वदेश फर्किने कतारी अधिकारीहरूले जनाएका छन् । तालिबान अधिकारीहरूले फेब्रुअरीमा ८० वर्षीय पिटर रेनोल्ड्स र उहाँकी पत्नी ७६ वर्षीया बार्बीलाई मध्य अफगानिस्तानको बामियान प्रान्तमा आफ्नो घर फर्कने क्रममा पक्राउ गरेका थिए।

अफगानिस्तानी नागरिकता लिइसकेका रेनोल्ड्स र बार्बीले अफगानिस्तानको शैक्षिक उन्नतिका लागि करिब दुई दशकदेखि काम गर्दै आएका थिए । उनीहरूले बिशेष गरी महिला र बालबालिकाका लागि शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएका थिए ।वृद्धद्वयको स्वास्थ्यको चिन्तापछि उनीहरूलाई कतारको मध्यस्थतामा शुक्रबार मुक्त गरिएको थियो भने उनीहरू शुक्रबार नै एक उडानमार्फत कतारको राजधानी दोहा पुगेका थिए ।

स्वास्थ्य परीक्षण पूरा गरेर उनीहरु शनिबार व्यावसायिक उडानबाट लन्डन जाने बताइएको छ ।रेनोल्ड्सले सन् १९७० मा काबुलमा विवाह गरेका थिए र लगभग दुई दशक अफगानिस्तानमा बसेर महिला र बालबालिकाका लागि शैक्षिक कार्यक्रमहरू सञ्चालन गरेका छन्। अफगानिस्तानमा शैक्षिक तथा सामाजिक कामसँगै उनीहरुले अफगानी नागरिकता प्राप्त गरेका थिए ।

शुक्रबार दोहा प्रस्थान गर्नुअघि, काबुल एयरपोर्टको धावनमार्गमा एक विमान नजिकै दाह्री पालेका आफ्ना पतिको छेउमा रातो स्कार्फ लगाएर उभिएकी बार्बीले संक्षिप्तरूपमा भन्नुभयो, “हामीलाई धेरै राम्रो व्यवहार गरिएको छ। अहिले हामी हाम्रा बच्चाहरूलाई भेट्न आतुर छौँ ।”

कतारले उनीहरुको रिहाइका लागि वार्तालाई सहजीकरण गरेको थियो । रिहाइपछि उहाँले भन्नुभयो, “यदि हामीले अफगान सरकारबाट अनुमति पाउछौँ भने अफगानिस्तान फर्कन चाहन्छौँ । हामी अफगान नागरिक भइसकेका छौँ।”

सन् २०२१ मा तालिबान सत्तामा फर्किँदा बेलायती दूतावासको सल्लाहविरुद्ध उनीहरू अफगानिस्तानमै रहेका थिए । अफगानिस्तानका विदेश मन्त्रालयका प्रवक्ता अब्दुल कहर बल्खीले सामाजिक सञ्जालमा पोस्ट गरेको एक विज्ञप्तिमा उक्त दम्पतीलाई अफगानिस्तानका लागि बेलायतका विशेष प्रतिनिधि रिचर्ड लिन्डसेलाई हस्तान्तरण गरिएको उल्लेख गरिएको छ ।

“अफगानिस्तानको कानुन मिचेका दुई बेलायती नागरिक पिटर र बारबरा रेनोल्ड्सलाई न्यायिक प्रक्रियापछि हिरासतबाट रिहा गरिएको छ,” बल्खीले भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घका विज्ञहरूका अनुसार ती दम्पतीलाई पहिले अधिकतम सुरक्षा केन्द्रमा राखिएको थियो तर पछि ‘दिनमा पनि उज्यालो नदेखिने’ भूमिगत कोठरीमा राखिएको थियो र त्यसपछि उनीहरूलाई काबुलको गुप्तचर सेवामा स्थानान्तरण गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *