गगनलाई प्रकाशशरणको प्रश्न : सभापतिमाथि आक्रमण हुँदा उपचारसम्म पनि पर्खिन नसक्ने ?


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी पुनर्गठनको मुद्दा उठाइरहेका महामन्त्री गगन थापाप्रति आक्रोश व्यक्त गरेका छन् । अहिले पार्टीमा सबै जना एक हुनुपर्ने बेलामा घाउ लागेको बेला नुन छर्न खोजिएको उनले आरोप लगाएका छन् ।
आन्दोलनमा जलाइएको आफ्नो घरको भग्नावशेषबाटै सम्बोधन गर्दै उनले गगनको नाम नलिईकन उनीप्रति आक्रोश पोखेका हुन् । सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहँदा नेतृत्व परिवर्तनको बहस गर्न खोज्नु ठिक नभएको उनको भनाइ छ ।
हेर्नुस् डा. महतको भनाइः
अहिले हामी सबै एक भएर आफ्ना कमीकमजोरी हटाउने र आन्तरिक एकता बलियो बनाउने बेला हो । तर घाउ लागेको बेलामा नुन छर्ने गलत प्रवृत्ति देखिएको छ । २३ गतेभन्दा चार दिन अगाडिसम्म त्यही सभापति अत्यन्त ठिक हुने… हामी त बरु अलि टाढा भएका थियौं । जुन साथीहरूले अहिले प्रश्न उठाइरहनुभएको छ । तत्काल नेतृत्व परिवर्तनको कुरा गरिरहनुभएको छ ।
उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो । बोली, बचन, वक्तव्य, उठबस हेर्ने हो भने उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो । हामीले भन्या थियौँ । कतिपय कुरा ठिक भइरहेको छैन । ओलीजीको सोच र शैलीले ठिक बाटोमा अघि बढ्दैन । अहिले नयाँ परिस्थिति बन्ने बित्तिकै अब त एक छिन पनि हुँदैन भनेको के हो ? अभिभावकमाथि सांघातिक प्रहार हुँदा हामी उपचार पनि पूरा पर्खन सक्दैनौँ ? आकाश नै झरिहाल्छ ?
नयाँ परिस्थितिबारे पार्टीमा अवश्य पनि मन्थन हुन्छ । गम्भीर छलफल गर्छौंं । कसरी घटना घट्यो । मूल्यांकन गर्छौँ । सुधार पनि गर्छौँ । तर त्यसका लागि पनि नपर्खने ? आधिकारिक निर्णय कार्यसम्पादन समितिले गरेको भन्दा छुट्टै बहस थाल्ने ? यसे हाम्रो पार्टीलाई मजबुत गर्दैन ।