संविधान खारेजी र गणतन्त्र समाप्त पार्ने तत्वहरू क्रियाशील छन् : प्रदीप ज्ञवाली


काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकमा निर्वाचन हुन नदिने खेलमा केही शक्तिहरु लागि परेको बताएका छन् । प्रगतिशील लेखक संघ, नेपालले आज (आइतबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुकमा व्यवस्था विरोधी तत्वहरूले संविधान र गणतन्त्र दुवैलाई समाप्त पार्नका लागि चुनाव हुन नदिने षड्यन्त्र गरिरहेको टिप्पणी गरे ।
तोकिएको समयमा नै निर्वाचन भए संविधान र गणतन्त्र दुवै मास्ने लक्ष्य पूरा नहुने भएकाले पनि उनीहरुले मुलुकलाई रिक्ततातर्फ धकेल्न पनि निर्वाचन हुने नदिने उपमहासचिव ज्ञवालीको तर्क थियो । उनले राष्ट्रपति रामचन्द्र पौडेलको अडानको कारण मात्रै मुलुक दुर्घटना हुनबाट बचेको पनि बताए । उपमहासचिव ज्ञवालीले जेनजी अभियन्ताहरु रनभुल्लमा परेको उल्लेख गर्दै मुलुकमा अरु शक्तिहरूले चलखेल गरिरहेको दाबी गरे ।
उनले भने, ‘यी सबै कुराको अन्तर्यमा संविधान खारेजी, गणतन्त्रको समाप्तीको कुरा छ । म यस मानेमा धन्यवाद दिन चाहन्छु कि सम्माननीय राष्ट्रपति ज्यूलाई कि उहाँले केही केही अडान लिनु भएको हुनाले त्यसै दिन हुने कतिपय दुर्घटनाहरु बचेको पनि छ । तर अगाडिका दिनहरु कसरी जान्छन ? भन्न सकिँदैन ।’
उनले भने, ‘मेरो विचारमा यस्तो स्थिति सिर्जना गर्ने कोशिस हुनेछ, जहाँ चुनाव हुन नसकोस । एउटा रिक्तता सिर्जना होस् । वर्तमान प्रधानमन्त्रीले चुनाव गराउन सकिन भनेर हटन बाध्य बनाइयोस् । एउटा भ्याकुम खडा गरेर त्यही भित्र खेल्न सकियोस् । यो दिशामा लैजाने प्रयत्नहरु आगामी दिनहरुमा हुने नै छन ।’ उपमहासचिव ज्ञवालीले राजनीतिक दलहरूलाई पेलेर निर्वाचन गराउन प्रयास भए पनि त्यो भने सम्भव नहुने बताएका छन् ।