प्रधानमन्त्री कार्कीसँग अख्तियार प्रमुख राईको भेटवार्ता, के भयो कुराकानी ?


काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भेटवार्ता गरेका छन् । आयोगका प्रमुख आयुक्त राईले सबै किसिमका भ्रष्टाटाचारको छानबिन गर्न आफू तयार रहेको जानकारी प्रधानमन्त्री सुशीला कार्कीलाई दिएका छन् ।
जेनजी आन्दोलनपछि परिवर्तित अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहितका पदाधिकारीलाई हटाउनु पर्ने आवाज उठिरहेका बेला शनिबार राईले कार्कीलाई भेटेर भ्रष्टाचार छानबिनमा आयोगलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका हुन् ।
जेनजीको मागअनुसार नेताहरुले गरेको भ्रष्टाचारको छानबिनका लागि न्यायिक आयोग बनाउँदा संवैधानिक आयोगको क्षेत्राधिकारमा प्रवेश गर्ने भएकाले राईसहितका विवादित पदाधिकारीलाई बिदाइ गर्ने मनस्थितिमा सरकार छ ।
यस्तो अवस्थामा राईले प्रधानमन्त्री कार्कीलाई भेटेर स्वतन्त्रपूर्वक भ्रष्टाचारमाथि छानबिन अघि बढाउन आफू तयार रहेको बताएको स्रोतले जानकारी दिएको छ । वाइडबढी खरिदमा भएको भ्रष्टाचारमा आफै मुछिएका राईले अरुलाई मुद्दा चलाएर आफूलाई जोगाएका थिए । त्यसमा विशेष अदालतले टिप्पणी गर्दै आयोगको छानबिनको निष्पक्षतामाथि प्रश्न उठाएको थियो । राईले राजनीतिक प्रतिशोधका आधारमा छानबिन र मुद्दा चलाएको आरोप छ।