`

संयुक्त राष्ट्र शिखर सम्मेलन: जेलेन्स्कीसँग भेट्ने ट्रम्पको योजना र अन्धकार दृष्टिकोण

Nepal One HD ७ असोज २०८२ १६:१६
विश्व

संयुक्त राष्ट्रसङ्घ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भेट्ने छन् । रुसविरुद्ध पश्चिमी धैर्य घट्दै गएको बेला हुने यो भेटलाई संयुक्त राष्ट्र शिखर सम्मेलनकै एउटा प्रमुख क्षण मानिएको छ ।

ट्रम्पले पदभार ग्रहण गरेपछि पहिलोपटक संयुक्त राष्ट्रसङ्घलाई सम्बोधन गर्ने तयारी गरेका छन् । सम्मेलनमा उनले अन्तर्राष्ट्रिय संस्थाहरूमा अमेरिकी भूमिकालाई कटौती गर्ने अन्धकार दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

ट्रम्पले अगस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अलास्का आमन्त्रित गरेपछि जेलेन्स्कीसँग यो दोस्रो भेट हुनेछ । पुटिनसँगको उक्त कदमले पश्चिमी अलगाव तोडे पनि युक्रेन युद्धमा कुनै प्रगति भएको थिएन ।

रुसले युक्रेनमाथि आक्रमण जारी राख्नुका साथै पोल्यान्ड, इस्टोनिया र रोमानियामा ड्रोन तथा हवाई आक्रमण बढाउँदा नाटो सदस्यहरूमा चिन्ता बढेको छ । अमेरिकी राजदूत माइक वाल्ट्जले नाटोको ‘हरेक इन्चको रक्षा गर्ने’ वाचा गरेका छन् ।

ट्रम्पले युद्ध एक दिनमै अन्त्य गर्ने दाबी गर्दै पुटिनसँगको व्यक्तिगत सम्बन्धमा भरोसा राखेका थिए। तर हालै उनले ‘पुटिनले निराश पारेको’ स्वीकार गरे। जेलेन्स्कीले भने ट्रम्पलाई रूसविरुद्ध कडा लाइन लिन दबाब दिने अपेक्षा गरिएको छ । तर विदेशमन्त्री मार्को रुबियोले ट्रम्प पुटिनमाथि दबाब दिन इच्छुक नभएको सङ्केत दिएका छन् ।

फेब्रुअरीमा ह्वाइट हाउसमा भएको भेटमा ट्रम्पले जेलेन्स्कीलाई अमेरिकी सहयोगबारे ‘कृतघ्न’ भनेपछि दुई नेताबीचको सम्बन्ध अझै संवेदनशील रहेको छ ।

न्युयोर्कमा छोटो बसाइ रहने ट्रम्पले अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिले जस्ता सहयोगी नेतासँग पनि भेट गर्ने छन् । ह्वाइट हाउसका अनुसार उनले ‘विश्वभर अमेरिकी शक्तिको नवीकरण’ र ‘विश्वव्यापी संस्थाहरूले बिगारेको विश्व व्यवस्थाबारे आफ्नो दृष्टिकोण’ प्रस्तुत गर्नेछन् ।

ट्रम्पले दोस्रो कार्यकालमा ‘अमेरिका फर्स्ट’ नीतिअन्तर्गत विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्र जलवायु निकायबाट अमेरिकालाई बाहिर निकाल्ने भएको छ, विकास सहयोगमा कटौती गरेको छ र विदेशी न्यायाधीशहरूलाई प्रतिबन्ध लगाएको छ ।

मानव अधिकार समूह अक्सफाम अमेरिकाले ट्रम्पलाई ‘सहयोगको सट्टा अराजकता बढाउने’ भन्दै आलोचना गरेको छ ।

यसैबीच, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पश्चिमी सहयोगीहरूलाई लिएर प्यालेस्टिनी राज्यलाई मान्यता दिने अभियान चलाइरहेका बेला ट्रम्पको उपस्थितिले थप तरङ्ग ल्याएको छ ।

संयुक्त राज्य अमेरिका र इजरायल भने यस विषयमा भएको विशेष सत्रबाट टाढा बसेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *