`

इयु शिखर सम्मेलनका कारण डेनमार्कमा नागरिक ड्रोन उडान प्रतिबन्ध

Nepal One HD १२ असोज २०८२ २०:०९
विश्व

डेनमार्कले आगामी युरोपेली सङ्घ (इयु) शिखर सम्मेलनका क्रममा सुरक्षा सुनिश्चित गर्न सोमबारदेखि शुक्रबारसम्म देशभरि सबै नागरिक ड्रोन उडानहरूमा प्रतिबन्ध लगाउने भएको छ । यातायात मन्त्रालयले आइतबार यसबारे जानकारी दिएको छ ।

गत सेप्टेम्बर २२ यता डेनमार्कभरि रहस्यमय ड्रोनहरू देखिएका कारण धेरै विमानस्थलहरू बन्द गर्नुपरेको थियो । डेनमार्कले यसमा सम्भावित रूसी संलग्नताको सङ्केत गरेको भए पनि मस्कोले आरोप अस्वीकार गरेको छ ।

कोपनहेगनमा बुधबार र बिहीबार हुने इयु शिखर सम्मेलनमा विभिन्न सदस्य मुलुकका सरकारी प्रमुखहरू सहभागी हुनेछन् । यसलाई लक्षित गर्दै थप सुरक्षा व्यवस्था मिलाइएको हो ।

यातायातमन्त्री थोमस डेनियलसेनले विज्ञप्तिमार्फत भन्नुभयो, “डेनमार्कले युरोपेली सङ्घका नेताहरूलाई आतिथ्य गर्नेछ, जहाँ हामीले सुरक्षामा अतिरिक्त ध्यान दिनेछौँ । त्यसैले सोमबारदेखि शुक्रबारसम्म नागरिक ड्रोन उडानका लागि डेनमार्कको आकाश पूर्ण रूपमा बन्द हुनेछ ।”

उहाँका अनुसार यस कदमले शत्रु ड्रोनहरू कानूनी ड्रोनसँग भ्रमित हुने जोखिम हटाउनेछ ।

मन्त्रालयले प्रतिबन्धको उल्लङ्घन गरे जरिवाना वा दुई वर्षसम्मको जेल सजाय हुन सक्ने चेतावनी दिएको छ ।

न्यायमन्त्री पिटर हम्मेलगार्डले सोही विज्ञप्तिमा प्रतिबन्धको मुख्य उद्देश्य प्रहरी र अधिकारीहरूको काम सहज बनाउन भएको बताउनुभयो ।

“प्रहरी उच्च सतर्कतामा छ । हाम्रा अधिकारीहरूले डेनमार्क र पाहुनाहरूको सुरक्षाका लागि आफ्नो सम्पूर्ण ध्यान दिन सकून् भन्ने हाम्रो चाहना हो । यसरी उनीहरूले अनावश्यक रूपमा नागरिक ड्रोनहरूमा ऊर्जा खर्च गर्नुपर्दैन”, उहाँले भन्नुभयो ।

डेनमार्क प्रहरीका अनुसार शनिबारसम्ममा पाँच सयभन्दा बढी नागरिक ड्रोन देखिएकोबारे रिपोर्ट दर्ता भएको थियो, तर अधिकांश घटनामा कुनै सुरक्षा चिन्ता नभएको पुष्टि गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *