`

इतिहासकै विषम अवस्थामा मुलुक : डा. शशांक कोइराला

Nepal One HD १३ असोज २०८२ ९:०६
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले मुलुक इतिहासकै सबैभन्दा विषम अवस्थामा उभिएको बताएका छन् । यो अवस्थाबाट देशलाई पार लगाउन एकले अर्कालाई निषेध होइन आपसी सद्भाव, सहिष्णुता र एकतासहितको सुझबुझपूर्ण निर्णय चाहिएको बताएका छन् ।

बडादशैं २०८२ को शुभकामना व्यक्त गर्दै उनले नेपाली कांग्रेसभित्र अझै बलियो एकता आवश्यक रहेको भन्दै बलियो र एकताबद्ध कांग्रेसले नै देशलाई समस्याबाट पार लगाउने बताए ।

जनताको लामो संर्घष, त्याग, बलिदान र उत्सर्गबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको जग संविधानमाथि प्रहार भएको, जननिर्वाचित थलो प्रतिनिधिसभा विघटन गरिएको भन्दै यस्तो अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जोगाउनुपर्ने प्रमुख दायित्व नेपाली कांग्रेसमा आएको उल्लेख गरेका छन् ।

‘यो अवस्थाबाट देशलाई पार लगाउन एकले अर्कालाई निषेध होइन आपसी सद्भाव, सहिष्णुता र एकतासहितको सुझबुझपूर्ण निर्णय चाहिएको छ । त्यसका लागि नेपाली कांग्रेसभित्रको अझै बलियो एकता आवश्यक छ’, उनले भनेका छन्, ‘बलियो र एकताबद्ध कांग्रेसले नै विगतमा आइपरेका चुनौतीलाई अवसरमा बदल्दै मुलुकलाई निकास र विकास दिएको छ ।’

प्रतिकूलताबीच पनि सामाजिक एकता र सद्भाव नेपाली समाजको विशिष्ट चरित्र भएको भन्दै अहिलेको विषम र अस्थिर परिस्थितिबाट उठ्न र पुनर्निर्माणमा जुट्न पनि संयम, संवाद र एकताबाटै सम्भव भएको बताएका छन् ।

‘त्यसले नै मुलुकको हित, शान्ति, सुशासन र समुन्नतिको मार्गमा हिँड्न तथा नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रमा रूपान्तरण गर्न सकिन्छ । देशको समुन्नति र सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीको बाटोलाई नवीन ढंगले सुनिश्चित गर्ने गुरुत्तर दायित्वप्रति हामी सबै गम्भीर बन्न आवश्यक छ’, डा. कोइरालाले शुभकामना सन्देशमा भनेका छन्, ‘त्यसले मात्र संविधानलाई जोगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको राजमार्गलाई अझ फराकिलो बनाउन र विद्यमान चुनौतीबाट देशलाई पार लगाउन सकिने छ । नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन सबैलाई आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न म वडा दसैँको अवसरमा आह्वान गर्दछु ।’

डा. कोइरालाले भदौ २३ र २४ गते काठमाडौंसहित देशभर भएको प्रदर्शन र ध्वशंसँगै यस वर्षको बडादशैं फरक अवस्था र विषम परिवेशकाबीच मनाउन लागेको उल्लेख गर्दै आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक महत्व बोकेका धरोहरहरू नष्ट भएको बताए ।

नेपालमा प्रजातन्त्र र स्वतन्त्रताको बिगुल फुक्ने कृष्णप्रसाद कोइरालाको निवास (विराटनगरको कोइराला निवास), ३० वर्षे पञ्चायती कालरात्रिबाट मुक्ति दिलाउन २०४६ सालमा आन्दोलनको शंखघोस गरेको गणेशमान सिंहको चाक्सीबारीस्थित निवास, सुशासन र सादगी जीवनका पर्याय सन्त नेता कृष्णप्रसाद भट्टराईको नाममा बाँडेगाउँस्थित आश्रम आगजनीबाट खण्डहरमा परिणत भएकामा दुःख व्यक्त गरेका छन् ।

डा. कोइरालाले ती खण्डहर भनवहरू केबल कसैका घर नभएर सिङ्गो नेपालको प्रजातान्त्रिक आन्दोलनका इतिहास र हाम्रो साझा सम्पत्ति भएको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *