नेताहरुको पासपोर्ट रोक्काप्रति कांग्रेसको आपत्ति


काठमाडौँ । नेपाली कांग्रेसले अन्तरिम सरकारलाई दण्डहीनतालाई प्रोत्साहन नगर्न र दलहरूमाथि प्रतिशोधपूर्ण राजनीति तत्काल रोक्न कडा चेतावनी दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार आफ्नो जिम्मेवारीभन्दा अलग बाटोमा हिँड्न खोजेको आरोप लगाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ र २४ गतेका घटनाको छानबिन प्रारम्भ नहुँदै राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही र प्रतिशोधपूर्ण ढंगले आयोगको हवाला दिँदै गैरकानूनी र गैरसंवैधानिक कार्यहरू गर्न लगाइएको देखिन्छ । सरकारको निर्देशनमै राहदानी रोक्का गर्ने, आवतजावतमा प्रतिबन्ध लगाउने जस्ता कदमहरू खुलेआम राजनीतिक प्रतिशोधको द्योतक हुन् ।’
कांग्रेसले जेन–जी पुस्ताले आह्वान गरेको शान्तिपूर्ण प्रदर्शनको आवरणमा अराजकता, आगजनी, तोडफोड र लुटपाट हुँदा मुलुकमा ठूलो क्षति भएको भन्दै गम्भीर आपत्ति जनाएको छ । पार्टीले घटनाबारे न्यायिक छानबिन आयोग गठन गरेको कदमलाई स्वागतयोग्य भने पनि त्यसकै नाममा दल विशेष र नेताहरूमाथि लक्षित प्रतिशोधी कारबाही स्वीकार्य नहुने चेतावनी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ र २४ गतेको घटनामा सुरक्षाकर्मी सहित ७६ जनाभन्दा बढीको ज्यान गएको छ, सयौँ घाइते भएका छन्, राष्ट्रलाई खरबौँको क्षति भएको छ । यस्ता घटनाको जति निन्दा गरे पनि कम हुन्छ । तर सरकारद्वारा जारी विज्ञप्ति र गृह मन्त्रालयको परिपत्रले संविधान र विधिको शासन विपरित छ ।’
कांग्रेसले सप्रमाण भेटिएका अपराधीलाई उन्मुक्ति दिने, पीडितलाई अझ आतंकित गर्ने र राजनीतिक दललाई छानीछानी प्रतिशोधी निशाना बनाउने नीति जनताले कहिल्यै स्वीकार नगर्ने स्पष्ट चेतावनी दिएको छ । पार्टीले अन्तरिम सरकारलाई दण्डहीनतालाई प्रोत्साहन गर्ने र दलमाथि प्रतिशोधपूर्ण राजनीति गर्ने बाटो तत्काल छोड्न आग्रह गरेको छ ।