डेनमार्कमा ड्रोन घटनापछि युरोपेली नेताहरू सुरक्षा र युक्रेन युद्धबारे भेला


गत हप्तामा डेनमार्कका विमानस्थल र सैन्य अड्डामा भएका ड्रोन आक्रमणपश्चात् सुरक्षा, रक्षा र युक्रेन युद्धबारे छलफल गर्न युरोपेली नेताहरू बुधबार कोपनहेगनमा दुई शिखर सम्मेलनका लागि भेला भएका छन् ।
डेनमार्कको रक्षा मन्त्रालयका अनुसार कोपनहेगन विमानस्थलमा निगरानी मजबुत बनाउन उच्चस्तरीय राडार प्रणाली जडान गरिएको छ । अज्ञात ड्रोनले एक साताअघि हवाई क्षेत्र बन्द गर्न बाध्य पारेपछि हवाई यातायातमा ठूलो अवरोध आएको थियो ।
फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, स्विडेन र बेलायतले शिखर सम्मेलन अघि नै डेनमार्कमा विमान, युद्धपोत र हवाई रक्षा प्रणाली पठाइसकेका छन् । युक्रेनले पनि आफ्ना विशेषज्ञहरूलाई पठाई नर्डिक देशहरूसँग संयुक्त अभ्यास सुरु गरेको छ, जसले रूसी ड्रोन आक्रमणविरुद्धको अनुभव बाँड्नेछ ।
डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले सोमबार सामाजिक सञ्जालमार्फत भन्नुभएको थियो, “हामीले निष्कर्ष निकाल्न सक्दैनौँ कि यस घटनाको पछाडिको देश कुन हो, तर एउटै स्पष्ट कुरा छ– रूस नै युरोपको सुरक्षामा प्रत्यक्ष खतरा बनेको छ ।”
बुधबारको युरोपेली सङ्घ (इयु) शिखर सम्मेलनको प्रमुख विषय रूस हुनेछ । सम्मेलनमा सन् २०३० सम्म युरोपले सम्भावित आक्रमणलाई कसरी रोक्ने भन्ने विषयमा छलफल हुनेछ । यसबीच, अमेरिकी ध्यान एसिया र अन्य क्षेत्रमा केन्द्रित भएकाले युरोपेली सुरक्षामा स्वावलम्बी हुने आवश्यकता बढी रहेको नेताहरूले बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले भिडियो सन्देशमार्फत इयु नेताहरूसँग सम्बोधन गर्ने कार्यक्रम छ ।
युरोपेली गुप्तचर संस्थाहरूको आकलनअनुसार रूसले आगामी तीनदेखि पाँच वर्षभित्र युरोपका अन्य क्षेत्रमा आक्रमण गर्ने सम्भावना छ । राष्ट्रपति भ्लादिमिर पुटिन नाटोको प्रतिबद्धता परीक्षण गर्न इच्छुक रहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाटोप्रतिको अडान अस्पष्ट भएकाले थप शङ्का बढेको बताइएको छ ।
गत सेप्टेम्बर १० मा रूसी ड्रोनहरूले पोल्यान्डको हवाई क्षेत्र उल्लङ्घन गर्दा नाटो विमानहरूले केहीलाई खसाल्न बाध्य भएका थिए । यो सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनविरुद्ध युद्ध सुरु भएपछि नाटो र मस्कोबीचको पहिलो प्रत्यक्ष भिडन्त थियो । सो घटनाले युरोपभरि नै रूसविरुद्धको तयारीबारे गम्भीर प्रश्न उठाएको थियो । केही दिनमै नाटो जेटहरूले एस्टोनियाको हवाई क्षेत्रमा प्रवेश गरेका तीनवटा रूसी लडाकू विमानलाई बाहिर निकाल्नुपरेको थियो ।
युक्रेनसम्बन्धी इयु वार्ताले द्वन्द्वग्रस्त देशलाई निरन्तर सैन्य तथा आर्थिक सहयोगबारे केन्द्रित गर्नेछ । यस क्रममा युक्रेनलाई सहयोग गर्न फ्रिज गरिएका रूसी सम्पत्तिहरू प्रयोग गर्ने प्रस्तावमाथि समेत छलफल हुने अपेक्षा गरिएको छ ।
बेलायतका प्रधानमन्त्री किर स्टार्मरलगायत युरोपभरिका शीर्ष नेताहरू बुधबार साँझ युरोपेली राजनीतिक समुदाय (इपिसी) को रात्रिभोजमा सहभागी हुनेछन् । करिब ४० राष्ट्र वा सरकारका प्रमुखहरू उक्त कार्यक्रममा उपस्थित हुनेछन् ।
इपिसी नेताहरू बिहीबार पुनः भेला भई सुरक्षा, मानव बेचबिखन र आप्रवासनका मुद्दामा विशेष छलफल गर्नेछन् । तर आलोचकहरूले यस फोरमलाई ‘राजनीतिक बोल्ने पसल’ मात्र भनेका छन्, जसले ठोस परिणाम दिन नसक्ने गरेको आरोप छ ।