कति सकियो राहुघाट जलविद्युत् आयोजनाको काम ?

अर्थ समाचार

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।
९० प्रतिशत भौतिक प्रगति भएको राहुघाटको सिभिल ठेक्काको सम्झौताको तेस्रो पटक थपिएको म्याद सन् २०२५ नोभेम्बर २७ सम्म छ । सुरुङ, बाँध र विद्युत गृहको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुुगेको आयोजनाको विद्युुत गृहमा उपकरण जडान थालिएको रघुुगङ्गा हाइड्रोपावरका आयोजना व्यवस्थापक राज विष्टले बताए ।
ठेकेदारले दसैँको समयमा पनि ५०० जना भन्दा बढी मजदुुर परिचालन गरेर निर्माणलाई निरन्तरता दिएको उनले बताए । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ (२०७४ मंसिर ६ गते) रु छ अर्बमा ठेक्का सम्झौता गरेको थियो ।
सन् २०२२ फेब्रुअरीमा पहिलो र सन् २०२२ फेब्रुअरीमा दोस्रो पटक थपिएको म्याद गत जुन २७ मा सकिएको थियो । कोरोना महामारी, बाढी, पहिरो जस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको हो । विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि विद्युत गृहका उपकरण आयात र जडानको काम लक्ष्यअनुसार गर्न सकेको छैन । भेलसँगको ठेक्काको म्याद आगामी डिसेम्बर ३१ सम्म छ ।
कार्ययोजनाअनुसार ठेकेदारले काम गरेमा आगामी डिसेम्बरमा राहुघाट निर्माणसम्पन्न हुने आयोजना व्यवस्थापक बिष्ट बताए । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झीँ को फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र तिल्केनीचौरमा विद्युत्गृह निर्माणको काम ९० प्रतिशत सकिएको छ ।
भारतीय आयात निर्यात (एक्जिम) बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्र्याक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना सञ्चालन गरिएको हो ।
कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लो पटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।
यस आयोजनाले वार्षिक रु २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रशारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चारवटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट