जेनजी आन्दोलनका ‘भाइरल’ युवकले गरे आमाको विभत्स हत्या


काठमाडौं । जेनजी आन्दोलनमा प्रहरीसँग विवाद गर्दै ‘भाइरल’ बनेका धादिङका एक युवक आमाको हत्या आरोपमा पक्राउ परेका छ । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका–५, थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल छन् ।
५५ वर्षीया आमा रमामायाको हत्या गरेको उनीमाथि आरोप छ । गए राति (असोज १९) धारिलो हतियार प्रहार गरी यमबहादुरले आमाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं एसपी भेषराज रिजालले जानकारी दिए । घटना लगत्तै खटिएको प्रहरी टोलीले यमबहादुरलाई धारिलो हतियारसहित नियन्त्रणमा लिएको उनले बताए।
यमबहादुरमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । प्रहरीले घटनास्थलबाट हतियारसहित यमबहादुर कँडेललाई नियन्त्रणमा लिएको थियो । यो घटनाले गाउँ नै स्तब्ध छ । यमबहादुर भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका भिडिओहरूमा निकै भाइरल भएका थिए ।
‘मेरो आँखामा डर छ ? ल हेर्नुस् म डराएको छु ? म मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिन’ जस्ता डाइलग भिडिओमा बोलेका तिनै युवाले आमाको हत्या गरेर सिङ्गै गाउँलाई रुवाएका छन् ।