`

बाढीले बगायो ऊर्जा आशा

Nepal One HD २० असोज २०८२ १६:५२
अर्थ समाचार

काठमाडौं । देशभर दशैंको उल्लास दुई दिनको अलिरल भारी बर्षाले हरेको छ । असोज १७ देखि १९ गतेसम्मको भीषण वर्षाले तीन प्रदेशका १० जिल्लामा ३२ जलविद्युत् आयोजनालाई गम्भीर रूपमा प्रभावित बनायो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अनुसार, बाढी र पहिरोले गर्दा १८० मेगावाट उत्पादन क्षमताका १७ सञ्चालनमा रहेका आयोजना र ३३८ मेगावाटका १५ निर्माणाधीन आयोजना प्रभावित भएका छन् ।

इलाम : जलविद्युत् संकटको केन्द्रबिन्दु
पानीको उर्जा बनाउने सपना साकार पार्दै आएको इलाम जिल्ला यस पटक सर्वाधिक प्रभावित रह्यो । सञ्चालनमा रहेका १७ आयोजनामध्ये १५ इलामकै हुन्, जसको उत्पादन अहिले पूर्ण रूपमा ठप्प छ ।
यी आयोजनामा समावेश छन् :-

–सानिमा माई (२२ मेगावाट)
–माई खोला क्यासकेड (८ मेगावाट)
–सुपर माई र सुपर माई–ए
–जोगमाई श्रृंखला (तीन आयोजना)
–माईबेनी, माई–सी क्यासकेड, माथिल्लो माई आदि ।
यस बाहेक, कोशी प्रदेशकै पाँचथर र बागमती प्रदेशको लिखु–४ आयोजना पनि प्रभावित भए । यद्यपि, लिखु ४ को उत्पादन एक घण्टा मात्र बन्द भयो भने बाँकी सबै अझै पुनः सञ्चालनमा फर्किन सकेका छैनन् ।

निर्माणाधीन आयोजना : बाटोमै रोकिए ऊर्जा सपना
वर्षाले निर्माणाधीन जलविद्युत् आयोजनाहरूलाई पनि पछाडि धकेलेको छ । विशेष गरी पहुँचमार्गहरू बग्दा निर्माण अवरुद्ध भएको इपानले जनाएको छ ।

जसमा उल्लेखनीय छन् :-
–मनाङको दाना खोला (४९.९५ मेगावाट)— १२ किमी सडक भत्कियो
–इलामको सिद्धिखोला (१० मेगावाट)— उत्पादन मिति अनिश्चित
–पाँचथरको सभाखोला बी र हेवाखोला— उपकरण नै बगायो

–सिन्धुपाल्चोकको ब्रम्हायणी श्रृंखला (४ आयोजनाहरू)— पहुँचमार्ग ध्वस्त
अन्य प्रभावित क्षेत्रहरूमध्ये रसुवा, भोजपुर, म्याग्दी, लमजुङ, रामेछाप र धादिङ पनि पर्दछन्, जहाँ उत्पादन ढिलाइ हुन लागेको छ ।

चेतावनी मानेपछि बच्यो जीवन
इपान अध्यक्ष गणेश कार्कीका अनुसार, यस वर्ष विभागसँग सहकार्य गर्दै बाढीको पूर्व सूचना समयमै पाएको र पूर्व तयारी गरिएको कारण मानवीय क्षति हुन पाएन । तर भौतिक संरचनामा भने नोक्सानी हुनबाट रोक्न सकिएन । विशेष गरी, पहुँच सडकको सुरक्षामा राज्यले गम्भीरता नअपनाएसम्म हरेक मनसुनमा ऊर्जा सपना बारम्बार बग्ने खतरा कायम नै रहने विज्ञहरूको चेतावनी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *