दिल्लीमा प्रहरीको गोलीबाट ढले नेपालका ‘भीम जोरा’


नयाँदिल्ली । भारतीय भूमिमा आतंकको पर्याय बनेका नेपाली नागरिक भीम जोराको जीवन सोमबार राति दिल्लीको आस्थाकुञ्ज पार्कमा प्रहरीको गोलीसँगै समाप्त भएको छ । हत्या, डकैती र संगठित चोरी जस्ता गम्भीर आपराधिक मुद्दामा संलग्न जोरा भारतभर कुख्यात नाम बनिसकेका थिए ।
दिल्ली र गुडगाउँ प्रहरीको संयुक्त कारबाहीमा मारिएका जोरा विरुद्ध एक लाख भारु पुरस्कार घोषणा गरिएको थियो, जुन आफैंमा उनको अपराधको गम्भीरताका लागि पर्याप्त संकेत हो ।
धेरै अनुहार, एक अपराधी
भीम जोरा नेपालका नागरिक भए पनि भारतका सूरत, कर्नाटक, दिल्ली, गाजियाबाद लगायत शहरहरूमा शक्तिशाली गिरोहको नेतृत्व गर्दै आएका थिए । नक्कली कागजपत्रको प्रयोग गरेर घरेलु कामदार बनेर घरभित्र छिर्ने, मालिकहरूलाई नशालु पदार्थ दिएर बेहोस बनाउने, लुटपाट गरेर नेपाल फर्किने रणनीति उनका प्रमुख थिए ।
उनको गिरोह डकैतीअघि घरको विस्तृत जानकारी संकलन गर्न आफ्नो मान्छेहरूलाई नै कामदारका रूपमा पठाउने गथ्र्यो । यस्तो गिरोह सञ्चालनका कारण भारतभर नेपाली श्रमिकहरूकै छवि बदनाम हुने खतरा समेत देखिएको छ ।
डा. योगेशचन्द्र पौलको हत्यामा जोरा
भीम जोराविरुद्धको सबैभन्दा गम्भीर अभियोग भने मे २०२४ मा दिल्लीको जांगपुरामा डाक्टर योगेशचन्द्र पौलको हत्या हो । घरेलु कामदार बसन्तीमार्फत लिएको सूचनाको आधारमा डाक्टरलाई भान्सामै घाँटी अँठ्याएर हत्या गरिएको थियो । त्यसपछि उनी आफ्नी कथित श्रीमती वर्षासँग फरार भएका थिए । यस घटनापछि भारतीय प्रहरीको ‘वाञ्छित अपराधी’ सूचीमा उनको नाम शीर्षमा पुगेको थियो ।
इन्काउन्टरको अन्त्य
सोमबार राति गुडगाउँ र दिल्ली प्रहरीको संयुक्त टोलीले आस्थाकुञ्ज पार्क क्षेत्रमा जोरा लुकेको सूचना पाएपछि घेराबन्दी ग¥यो । प्रहरीले दाबी गरेअनुसार, जोराले पहिलो गोली चलाए । जवाफमा प्रहरीको गोली लागेर उनी गम्भीर घाइते भए । उनलाई तत्काल एम्स ट्रमा सेन्टर पु¥याइए पनि मृत्यु भएको घोषणा गरियो । उनका एक सहयोगी भने अन्धकारको आडमा भाग्न सफल भएका छन् ।