जेनजीका जायज माग पूरा गर्दै निर्वाचन गर्नेतर्फ सरकार केन्द्रित भएको छ : सञ्चारमन्त्री खरेल


काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजीका जायज माग पूरा गर्दै शान्तिपूर्ण रूपमा निर्वाचन गर्नेतर्फ सरकार केन्द्रित भएको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको अग्रसरतमा प्रधानमन्त्री सुशीला कार्कीसहित भएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “आजको छलफल निर्वाचन केन्द्रित भयो, सम्माननीय राष्ट्रपतिले फागुन २१ गते निर्वाचनको तयारी के–कसरी भइरहेको छ भनेर सरकार र राजनीतिक दलहरूलाई सोध्नुभयो । चुनाव तोकिएकै समयमा गर्नुपर्छ भन्ने उहाँको मत रहेको छ ।”
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले सुरक्षाको प्रत्याभूति दिलाउने, निर्वाचन आयोगलाई उपलब्ध गराउने स्रोतसाधन र अन्य तयारीका विषयमा राष्ट्रपति र राजनीति दलहरूलाई सरकारले जानकारी गराएको बताउनुभयो ।
बैठकमा विभिन्न राजनीतिक दलको सहभागिता रहेको र ती दलहरू निर्वाचनमा जाने विषयमा कुनै द्विविधा नरहेको स्पष्ट पार्दै मन्त्री खरेलले भन्नुभयो, “राजनीतिक दलका प्रतिनिधिहरूले पनि चुनाव जानुपर्छ भन्ने विषयलाई आत्मसात गर्नुभएको छ । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनुपर्छ भन्ने उहाँहरूको भनाइ छ ।”
उहाँका अनुसार बैठकमा केही राजनीतिक दलहरूले निर्वाचनमा जाने निर्णय गरिसकेको र केहीले छिट्टै निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “चुनावको वातावरण बनेको छ,” मन्त्री खरेलले भन्नुभयो, “निर्वाचन आयोग पनि कार्यतालिका बनाएर अगाडि बढेको छ । सुरक्षाकर्मी पनि उच्च मनोवलका साथ अगाडि बढेका छन् ।”
राष्ट्रपति पौडेलले भोलि प्रधानमन्त्री कार्कीसहित जेनजीका प्रतिनिधिसँग पनि फागुन २१ गतेको निर्वाचनबारे छलफल गर्नुहुने उहाँले जानकारी दिनुभयो ।