`

रमेश लेखकलाई रवीन्द्र मिश्रको आग्रह : एकपल्ट मेरो आँखामा आँखा जुधाएर हेर्नोस् त !

Nepal One HD २५ असोज २०८२ ८:३६
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले निवर्तमान गृहमन्त्री रमेश लेखकलाई एक पटक आफ्नो आँखामा आँखा जुधाएर हेर्न आग्रह गरेका छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा आफूप्रति पूर्वाग्रह नराख्न र प्रतिशोध नसाँध्न कांग्रेस नेता समेत रहेका तत्कालीन गृहमन्त्री लेखकले शुक्रबार गरेको आग्रहका सन्दर्भमा मिश्रले आफ्नो पुरानो घटना सम्झेका हुन् ।

‘रमेशजी, मेरो आँखामा हेर्नोस् त ! भदौ २३ र २४ गतेलाई लिएर यो प्रतिशोध लिने समय होइन भन्नु भएछ । एकदम राम्रो’, मिश्रले सामाजिक सञ्जालमा लेखका छन्, ‘मेरो पनि तपाईप्रति कुनै प्रतिशोधको भाव छैन । तर कुनै सार्वजनिक कार्यक्रममा भेट्दा रमेशजी, एक पटक मेरो आँखामा आँखा जुधाएर हेर्नोस् त भन्ने उत्कट इच्छाचाहिँ छ । आशा छ–हाम्रो छिटै कहीँ न कहीँ भेट हुनेछ ।’

मिश्रले अगाडि लेखेका छन्, ‘चैत्र १५ गतेको घटनालाई लिएर तपाईले मलाई कुनै कसुर बिना ५० दिन थुन्नु भयो । सकेदेखि बाँकी जीवन पूरै जेल हाल्ने र मेरो भएको सम्पत्ति सबै जफत गर्ने मागसहित ४ वटा गम्भिर मुद्दा लगाउनु भयो । अरू धेरैलाई त्यसै गर्नु भयो । कर्तव्य निर्वाह गर्दा विवेक गुमाउनु भयो । दुःख लागेको छ ।’ गत चैत १५ गते राजावादीले काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक हुँदा मिश्र पनि पक्राउ परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *