साढे चार लाख घुससहित प्रधानाध्यापक र बिचौलिया पक्राउ


रौतहट । शिक्षक नियुक्तिका लागि सेवाग्राहीसँग चार लाख ५० हजार घुस लिएको आरोपमा रौतहटको जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसाद र बिचौलिया अरविन्द प्रकाश साह कानु पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको सूचनाको आधारमा बिचौलिया साहकानुले सेवाग्राहीबाट मागिएको रकम बुझिसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको आयोगले जनाएको छ ।
प्रधानाध्यापक संजय प्रसादले विद्यालयमा शिक्षक आवश्यकता सम्बन्धी खुलाइएको विज्ञापनको आधारमा सेवाग्राहीबाट विधिपूर्वक दिइएको दरखास्तको प्रक्रियालाई अगाडि बढाउने बहानामा घुस मागेको उजुरीका आधारमा आयोगको टोली खटिएको थियो । उनले विचौलियामार्फत ४ लाख ५० हजार घुसबापत मागेका थिए । सेवाग्राहीले उक्त रकम बिचौलिया साहुकानुलाई बुझाएका थिए ।
उनीहरूलाई पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१३, अदालत रोडस्थित एक होटलबाट शुक्रबार नियन्त्रणमा लिइएको हो । अहिले दुबैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।