भूजी लिग फुटबल : प्रथम हुनेले १ लाख २७ हजार ७२७ रुपैयाँ पुरस्कार पाउने


रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भूजीमा २७ औँ भूजी लिग फुटबल प्रतियोगिता–२०८२ सुरु भएको छ । अमृत घामछायाँ खेल मैदानमा सुरु भएको प्रतियोगितामा नौं टिमले सहभागिता जनाएका छन्
असोज २९ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले १ लाख २७ हजार ७ सय २७ रुपैयाँ नगद सहित स्वर्ण पदक तथा रनिङ शिल्ड प्राप्त गर्नेछ ।
त्यस्तै उपविजेताले ६७ हजार ७ सय २७ रुपैयाँ नगदसहित रजत पदक पाउने छ ।
सेमिफाइनलदेखि फाइनलसम्मका खेलमा म्यान अफ द म्याच खेलाडी छनोट गरी आकर्षक पुरस्कार प्रदान गरिने भुजी फुटबल क्लबका अध्यक्ष शुभराज सुनुवारले जानकारी दिए ।
सुनुवारको अध्यक्षतामा सुरु भएको खेलको उमाकुण्ड गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले उद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिता अर्याल, वडा अध्यक्षहरू, खेलकुद विकास संयोजक सुदीप सुनुवार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, खेलाडी र स्थानीयको सहभागिता थियो ।