`

जेनजी आन्दोलनमा प्रहरीको बन्दुक लुटेर भागेका आदित्य ब्राउन सुगरसहित पक्राउ

Nepal One HD २६ असोज २०८२ १०:५३
अपराध

मोरङ । जेनजी आन्दोलनका क्रममा प्रहरीको हतियार लुटेर फरार एक युवक खैरो हिरोइनसहित झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा दमक–३ का १८ वर्षीया आदित्य लिम्बु रहेका छन् । लिम्बुले भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार खोसी भिडियो बनाएका थिए । उनले प्रहरीको हतियार बोकेर फोटो खिचेको फोटो भाइरल बनेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुले आदित्यलाई खैरो हिरोइनसहित पक्राउ गरेको जानकारी दिए । उनले आदित्यसहित आठ जनाको गिरोह लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित झापाबाट पक्राउ परेको जानकारी दिए ।
शनिवार साँझ ५ बजे दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविर सेक्टर ए ३ हट नम्बर ३५३ मा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

घरको कोठा तलासी गर्दा चस्माको खोलभित्र लुकाई छिपाइ राखिएको अवस्थामा लागुऔषध खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ । डिजिटल तराजुमा नापजाँच गर्दा उक्त पदार्थको तौल ७ ग्राम ८ सय मिलिग्राम रहेको पाइएको हो ।आदित्य सहित पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेल रहेका छन् । उनी गत भदौ २४ गते उर्लाबारी प्रहरी हिरासतबाट भागी फरार रहेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अन्य व्यक्तिहरूमा साजन थापा (२७), दिपेश तामाङ (३२), सनम राई (३२), पविन विश्वकर्मा (१९), सुचन दर्जी (२५) र विजय माझी (२५) छन् । प्रहरीले बरामद लागुऔषध र पक्राउ परेकालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखेर कारबाही अघि बढाइएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *