राप्रपा महामन्त्री धवल शम्शेरले बोलाए असन्तुष्ट पक्षको भेला


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणाले आफू निकट केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन् । आज दिउँसो १ बजे आन्तरिक भेला हुने महामन्त्री राणा निकट एक नेताले जानकारी दिएका छन् । काठमाडौंमा रहेका केन्द्रीय सदस्यहरूलाई भेलामा बोलाइएको हो ।
काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा भेला हुनेछ । महामन्त्री राणाले गत माघको केन्द्रीय समिति बैठकमै फरक राजनीतिक विचार समेत राखेका थिए । त्यसयता अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री राणाबीच सम्बन्ध सुमधुर छैन । पछिल्लो समय अध्यक्ष लिङ्देनले संस्थापनइतर नेताहरूमाथि कारबाही गरेपछि महामन्त्री राणा लगायतले विज्ञप्ति जारी गर्दै विरोध गर्दै आएका छन् । साथै अध्यक्ष लिङ्देनले लामो समयदेखि केन्द्रीय समिति बैठक बोलाएका छैनन्। महामन्त्री राणाले केन्द्रीय समिति बैठक माग गर्दै आएका छन् । साथै नियमित महाधिवेशन माग पनि भइरहेको छ ।
अध्यक्ष लिङ्देनले केन्द्रीय कार्यसमिति बैठक नराखेको र नियमित महाधिवेशन गर्न मिति तोक्ने काम नगरेको भन्दै महामन्त्री राणाले आन्तरिक भेला बोलाएका हुन् । राप्रपाले २०७८ मंसिरमा महाधिवेशन गरेको थियो। विधानअनुसार चार वर्षमा नियमित महाधिवेशन हुनुपर्छ ।
महामन्त्री राणाले आजको भेलामा नियमित महाधिवेशन गर्न दबाब दिन नेताहरूलाई आग्रह गर्ने तयारी गरेका छन्। यदि नियमित महाधिवेशनको मिति तय नगरिए विशेष महाधिवेशन माग गर्नुपर्ने पक्षमा राप्रपाका संस्थापनइतर समूह छ । अध्यक्ष राजेन्द्र लिङ्देन पक्ष भने मंसिरमै नियमित महाधिवेशन गर्ने पक्षमा छैन । विगतमा जस्तै एक वर्ष कार्यकाल थप गर्ने तयारीमा संस्थापन पक्ष छ ।