कराते प्रतियोगितामा ऐतिहासिक सफलता दिलाएकी एरिका सम्मानित


काठमाडौँ, २६ असोजः नेपाल प्रहरी श्रीमती सङ्घले अन्तरराष्ट्रिय कराते प्रतियोगितामा ऐतिहासिक सफलता दिलाएकी एरिका गुरुङलाई आज नगदसहित सम्मान गरेको छ ।
सङ्घले भृकुटीमण्डपस्थित आफ्नै कार्यालयमा कार्यक्रम आयोजना गर्दै एरिकालाई रु २५ हजार ५५५ सहित सम्मान गरेको हो । सङ्घकी अध्यक्ष भावना श्रेष्ठ खापुङले एरिकालाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गर्नुभयो । सोही अवसरमा सङ्घले नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक एवम् १३औँ दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठलाई पनि सम्मान गरेको थियो ।
एरिका नेपाल पुलिस क्लबमा आवद्ध छिन् । उनले यही असोज १७ देखि १९ गतेसम्म मलेसियामा सम्पन्न डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् । उनले कुमितेतर्फ ६८ किलो माथिको तौलमा स्वर्ण जितेकी थिइन् । एरिका ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक रिपब्लिककी हाकोभा अमाली र पोल्यान्डकी डेनिस्जेवस्का जुलियालाई पछाडि पार्दै स्वर्ण जितेकी थिइन् ।
सेमिफाइनलमा हाकोभालाई ७–० ले हराएकी एरिकाले फाइनलमा मसाक्नीलाई २–० ले निराश पारिन् । कराते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी हुन् ।