गाजाबाट मुक्त हुने सबै बन्धकहरू इजरायली सीमामा प्रवेश भएपछि मात्र प्यालेस्टिनी कैदीहरू रिहा गरिने : इजरायल


इजरायलले गाजामा बन्धक बनाइएका सबै बन्धकहरू देश आइपुगेको पुष्टि भएपछि प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न सुरु गर्ने प्रधानमन्त्रीका प्रवक्ताले आइतबार बताएका छन्।
“भोलि रिहा हुन लागेका हाम्रा सबै बन्धकहरू सीमा पार गरेर इजरायलमा प्रवेश गरेको पुष्टि भएपछि मात्र इजरायलबाट प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिनेछ,” शोस बेड्रोसियनले पत्रकारहरूसँग भन्नुभयो।
यसअघिका युद्धविरामका क्रममा केही बन्धकहरूको अवशेष फरेन्सिक विज्ञहरूले इजरायल फर्केपछि पहिचान गरेका थिए ।बेड्रोसियनले भन्नुभयो, “पहिचान नहुँदासम्म प्यालेस्टिनी कैदीहरू रिहाइपछि प्रस्थान गर्न तयार बसहरूमा राखिनेछ।”
उहाँले भन्नुभयो, “बन्धकहरू इजरायली इलाकामा प्रवेश गरेको पुष्टि हुनासाथ ती बसहरू प्रस्थान गर्नेछन् र आफ्नो यात्रा सुरु गर्नेछन्।”उहाँले दुई वर्षभन्दा बढी समयदेखि गाजा पट्टीमा राखिएका सबै बन्धकहरूको रिहाइको काम सोमबार बिहानै सुरु हुने अपेक्षा गरिएको बताउनुभयो ।
इजरायल र हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको योजनाको पहिलो चरणलाई अनुमोदन गरिसकेका छन्, जसको उद्देश्यसन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि हमासको आक्रमणपछि गाजामा सुरू भएको युद्ध अन्त्य गर्नु हो।
योजनाका शर्तअनुसार, हमासले अक्टोबर ७ मा अपहरणमा परेका बाँकी ४७ बन्धक (जीवित र मृत) मध्ये सोमबार रिहा गर्ने भनिएका २० बन्धकलाई मध्याह्नसम्म रिहा गर्नेछ।
सन् २०१४ मा गाजा युद्धमा मारिएका एक सैनिकको अवशेष पनि हस्तान्तरण गर्ने अपेक्षा गरिएको बेड्रोसियनले बताउनुभयो । पछिल्लो युद्धविरामका क्रममा इजरायलको अबु कबिर फरेन्सिक इन्स्टिच्यूटमा पोष्टमार्टमपछि मात्र मृतक बन्धकको पहिचान पुष्टि भएको थियो ।
“हामी आशा गरिरहेका छौँ कि हाम्रा सबै २० जीवित बन्धकहरूलाई एकै पटकमा रेडक्रसमा रिहा गरिनेछ र छ देखि आठ वटा सवारी साधनहरूमा ढुवानी गरिनेछ,” उहाँले भन्नुभयो ।
“त्यसपछि बन्धकहरूलाई गाजाको इजरायल–नियन्त्रित भागहरू भित्र सेनाको जिम्मा लगाइनेछ र त्यसपछि दक्षिणी इजरायलको रिम बेसमा स्थानान्तरण गरिनेछ, जहाँ उनीहरू आफ्नो परिवारसँग पुनर्मिलन हुनेछन्।त्यसपछि उनीहरूलाई ‘तीन मुख्य अस्पतालहरू मध्ये एक’ मा लगिनेछ।
“शेबा मेडिकल सेन्टरमा दश, बेइलिन्सनमा पाँच बन्धकहरूलाई र इचिलोभमा पाँच बन्धकहरूलाई उपचार गरिनेछ,” बेड्रोसियनले बन्धकको उपचारका लागि तय गरिएका इजरायलका तीन अस्पतालको नाम दिँदै भन्नुभयो ।
प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सन्दर्भमा, धेरै इजरायलीहरूको हत्यामा दोषी ठहरिएका २५० बन्दीहरू सैन्य लडाकू हुन् भने करिब एक हजार ७०० लाई युद्ध सुरु भएपछि गाजामा इजरायली सेनाले हिरासतमा लिएको थियो।