कृषि क्षेत्रमा मिथेन उत्सर्जन घटाउने न्यूजिल्याण्डको दीर्घकालीन योजना


न्यूजिल्याण्ड सरकारले सन् २०१७ को आधार वर्ष मानेर सन् २०५० सम्म कृषि क्षेत्रबाट निस्कने मिथेन ग्यास उत्सर्जनलाई १४ देखि २४ प्रतिशतसम्म घटाउने लक्ष्य सार्वजनिक गरेको छ ।
सन् २०१७ को यो नीति मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । सरकारका अनुसार, यो निर्णय कृषक समुदायसँगको व्यापक परामर्शपछि गरिएको हो ।
कृषि, व्यापार तथा लगानी मन्त्री टोड म्याक्लेले भन्नुभयो,“हामीले न्यूजिल्याण्डको कृषि उत्पादक क्षमतालाई ध्यानमा राख्दै, रोजगारी र उत्पादन जोगाउने तथा जलवायु परिवर्तनप्रति प्रतिबद्धता जनाउने व्यवहारिक र न्यायसंगत बाटो रोजेका छौँ ।”
जलवायु परिवर्तन मन्त्री साइमन वाट्सका अनुसार, सन् २०५० सम्म नेट–शून्य उत्सर्जन लक्ष्यप्रति सरकार प्रतिबद्ध छ, जसमा कृषि क्षेत्रको पनि महत्वपूर्ण र न्यायोचित योगदान रहनेछ ।
सरकारले नीति अन्तर्गत सन् २०४० मा मिथेन कटौती लक्ष्यको कानुनी समिक्षा गर्ने, कृषिजन्य मिथेन उत्सर्जनमा कर नलगाउने र करको सट्टा प्रशोधनकर्ताहरूलाई प्रोत्साहन तथा साझेदारीको माध्यमबाट उत्सर्जन कटौती गर्ने जनाएको छ ।
मिथेन न्यूनीकरण प्रविधिको विकासका लागि सरकारले निजी क्षेत्रसँग मिलेर ४० करोड न्यूजिल्याण्ड डलर (करीब २३० लाख अमेरिकी डलर) लगानी गरिरहेको छ । सन् २०३० सम्म ११ वटा नयाँ प्रविधि ल्याइनेछ भने पहिलो प्रविधि सन् २०२६ देखि नै प्रयोगमा ल्याइनेछ ।
म्याक्लेले किसानलाई सहजीकरण गर्न ‘अन–फार्म इमिशन क्याल्कुलेटर’ सुरु गरिएको जानकारी पनि दिनुभएको छ ।