खेलकुद विज्ञान अनुसन्धान केन्द्रद्वारा खेलाडीको शारीरिक तन्दुरुती परीक्षण


काठमाडौँ, २७ असोजः राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको खेलकुद विज्ञान अनुसन्धान केन्द्रले खेलाडीको शारीरिक तन्दुरुस्तीको अवस्था अध्ययन र परीक्षण गरेको छ ।
मिसन–२०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका उसु, कुस्ती, तेक्वान्दो, कराते, बक्सिङ र भलिबलबाहेक क्रिकेट र फुटबल गरी आठ खेलका ५८ खेलाडीको परीक्षण गरी प्रतिवेदनसमेत बुझाइएको छ ।
केन्द्रका प्रमुख फिजियोथेरापिस्ट लक्ष्मण अधिकारीले राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङलाई आज प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।
प्रतिवेदन हस्तान्तरण गर्नुअघि प्रमुख अधिकारीले सदस्य–सचिव घिसिङ, राष्ट्रिय टोली तयारीका प्रतिनिधि, सम्बन्धित खेलका प्रशिक्षकलगायतको उपस्थितिमा प्रतिवेदनका विविध पक्षलगायत विषयमा जानकारी गराउनुभएको थियो । उहाँले बाँकी खेलाडीको पनि परीक्षण गरिने बताउनुभयो ।
सदस्य–सचिव घिसिङले विगतको परम्परागत शैलीको प्रशिक्षण विधिको अन्त्य गर्ने उद्देश्यले परिषद्ले अनुसन्धान केन्द्र र ‘हाइ पर्फमेन्स सेन्टर’को स्थापना गरेको बताउनुभयो । हाल खेलाडीको क्षमता पहिचान गर्ने उपयुक्त साधन परिषद्सँग भएकाले यसको भरपुर उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सदस्य–सचिव घिसिङले २० औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने मिसन–२०२६ को लक्ष्य पूरा गर्ने बेला आएको बताउँदै सबै गम्भीर भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।