मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि…


चितवन । चितवनको कालिका नगरपालिका–६, सिमलघारी टोलमा सोमबार (असोज २७) मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ । घरधनीसँग जम्काभेट भएपछि उनीहरूले आफूहरू प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए । घटना विवरणानुसार, नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा उनीहरू चोरी गर्न आएका थिए । खतिवडासँग जम्काभेट भएपछि उनीहरू आफूलाई प्रहरी भन्दै उम्किएका थिए ।
खतिवडाले भने, ‘नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लगाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौँ । रातको १२ बजे खेल सकिएपछि काकाको घरबाट घर फर्किंदा सडक पोलको बत्ती निभेको पाइयो । घरअगाडि बालेको बत्ती पनि बन्द गरेको पाइयो । बत्ती बन्द गरिएकामा शंका लाग्यो ।’ ‘मेरो घरबाट चार घर पर अँधेरोमा केही चिज रोकेर राखेकोसम्म आँखा पुग्यो । जब आफ्नो घरअगाडि सडकमा पुगेँ, अँध्यारोमा एक अपरिचित युवा मेरो घरको बरन्डाबाट आँगनमा निस्किए’, घटना विवरण सुनाउँदै उनले भने, ‘एक्कासी नयाँ मान्छे देख्दा म आत्तिएँ । चोर ! भन्ने सम्झेँ । तर, बोल्न सकिनँ ।’
ती व्यक्तिले ‘यहाँ कारागारबाट भागेको कैदी लुकेको छ रे, कहाँ छ ?’ भन्दै प्रश्न सोधेपछि आफू आत्तिएर काको घरतर्फ गएको खतिवडाले बताए । भाइ विवेक खतिवडा र आफू पुनः घरमा फर्कंदा ती व्यक्ति अगाडि मोटरसाइकलमा रहेका अर्का व्यक्तिसम्म पुगेको उनले बताए। उनीहरूले आफूहरू प्रहरी भएको र लोकेसनले फरार कैदीबन्दी यहाँ देखाएकाले खोज्दै आएको बताएका उनले सुनाए । घर आउँदा मोटरसाइकल राखेको ठाउँबाट अलि पर सारेको, जुत्ता, हेलमेट सडक किनारमा लगेर राखेको, झ्यालको पल्ला खोलेको पाएपछि बल्ल उनीहरू चोर हुन भन्ने यकिन भएको खतिवडाले बताए । राति नै प्रहरीलाई खबर गरी घटना विवरण सुनाएको उनले जानकारी दिए ।
मोटरसाइकलमा रहेका व्यक्तिले हतियारजस्तो वस्तु समेत बोकेको देखिएको खतिवडाले बताए । उनका अनुसार, नजिकै रहेको काका कालिदास खतिवडाको घरबाट पल्सर मोटरसाइकल राति नै चोरी भएको छ । उनीहरू बत्ती निभाएर चोर्ने नियतले घरमा पसेको र जम्काभेट भएपछि आफूहरूलाई प्रहरी बताउँदै उम्किएको खतिवडाले बताए ।
इलाका प्रहरी कार्यालय रत्ननगरका डीएसपी सुवास भट्टले घटनाको जानकारी पाएसँगै राति प्रहरी परिचालन गरिएको जानकारी दिए । घटनाको अध्ययन थालिएको उनले बताए । उनीहरू प्रहरी नभएको भन्दै चोरी गर्ने नियतले आएको हुन सक्ने उनले उल्लेख गरे । जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द पुरीले फरार कैदीबन्दी हुन सक्ने आशंकाबीच सोही कोणबाट समेत अनुसन्धान थालिएको बताए । उनले भने, ‘यसै भन्न सकिन्नँ, तर सबै कोणबाट अध्ययन थालेका छौँ ।’ चितवनसहित देशका धेरै कारागारबाट ठूलो संख्यामा कैदीबन्दी फरार रहेका छन् । रासस