`

अलपत्र पारिएका सिंचाइका रुग्ण ठेक्का तोड्न सुरू, बबई आयोजनाका ६ ठेक्का तोडिंदै

Nepal One HD ३० असोज २०८२ ७:५५
अर्थ समाचार

काठमाडौं । ठेकेदारले वर्षौंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिंचाइतर्फका ठेक्का तोड्न सुरू गरिएको छ । बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्न बिहीबार सूचना निकालेको छ ।

आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता गरेको थियो । ६ वटा ठेक्कामध्ये चारको निर्माण प्रगति शून्य छ । एउटाको ३० र अर्कोको ५५ प्रतिशत प्रगति रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएसँगै अलपत्र आयोजनाको ठेक्का सम्झौता तोड्ने प्रक्रिया थालिएको हो ।

आयोजनाले पटक–पटक सूचना प्रकाशन गर्दा समेत सम्झौता बमोजिम काम सुरू नगरी बीचैमा छोडी ठेक्काको म्याद समाप्त हुँदासम्म पनि काम सम्पन्न गर्नेतर्फ कुनै चासो नदिएको जनाएको छ । ठेक्का सम्झौता अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनु नपर्ने कुनै ठोस कारण भए निर्माण व्यवसायीलाई १५ दिनभित्र प्रमाणसहित उपस्थित हुन भनिएको छ ।

पेस गरिएका प्रमाण नियमसंगत भरपर्दो वा चित्त बुझ्दो नभए धरौटी बापत राखिएको रकम जफत र कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइनेछ । सिंचाइ विभागअन्तर्गत राष्ट्रिय गौरवका भेरी बबई तथा सुनकोशी मरिण बहुउद्देश्यीयसहित २५ आयोजनाका ठेक्का रुग्ण छन् । त्यसमध्ये ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *