`

कांग्रेस वैठकमा प्रस्ताव : चुनाव वैशाखमा सार्नु पर्छ

Nepal One HD ३१ असोज २०८२ १३:१५
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको बैठकमा फागुन २१ गतेका लागि तय भएको चुनाव वैशाखमा सार्नुपर्ने प्रस्ताव आएको छ । सानेपामा जारी केन्द्रीय गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले फागुन २१ को चुनाव वैशाखमा सार्न आवश्यक रहेको बताएका हुन् । उनले बैठकमा भने, ‘वैशाख मसान्तको मितिमा निर्वाचन गर्नुपर्छ । वैशाखमा गर्दा शान्ति सुरक्षाको वातावरण पनि निर्वाचन अनुकूल बनाउन सरकारले समय पाउनेछ ।’ महामन्त्री गगन थापाले पेस गरेको प्रस्तावमा अहिले नेताहरूले धारणा राख्ने क्रम जारी छ ।

देउवाको कुर्सी खाली
आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ । सभापति शेरबहादुर देउवाले गत असोज २८ गते बैठक प्रारम्भ गर्दै कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका थिए । देउवाले सक्रिय भूमिका छाडेको बताए पनि कांग्रेस बैठकमा उनको कुर्सी यथावत छ । देउवा बस्ने कुर्सी खाली राखेर कार्यवाहक सभापति खड्काले बैठक अगाडि बढाएका हुन् । कांग्रेसका एक केन्द्रीय सदस्य देउवाको कुर्सी खाली राखेर बैठक सञ्चालन हुनुको राजनीतिक अर्थ रहेको बताउँछन् ।

कांग्रेसभित्र महाधिवेशन र नेतृत्व परिवर्तनका विषयमा बहस भइरहँदा देउवा भौतिक रुपमा अनुपस्थित भएपनि राजनीतिक रुपमा क्रियाशील छन् भन्ने सन्देश दिन कुर्सी राखिएको हुनसक्ने उनले बताएका छन् । ‘शेरबहादुर दाइप्रति सम्मानको पनि कुरा होला । मुख्य कुरा चाँहि कार्यवाहक दिएको मात्रै हो, राजनीति छाडेको होइन भन्ने सन्देश पनि दिन खोजिएको होला,’ संस्थापन पक्षका ती केन्द्रीय सदस्यले भने । कांग्रेस बैठकमा जेनजी आन्दोलन र प्रभाव, १५ औं महाधिवेशन तयारी, संसद विघटन र घोषित निर्वाचन लगायतका ८ बुँदे एजेण्डा उपर छलफल जारी छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *