तोरीले पहेंलपुर पर्यटकीय गन्तव्यको सम्भावना बोकेको काभ्रे काफ्लेथोक {तस्वीरहरु}


काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका–४ मा अवस्थित काफ्लेथोक गाउँ यतिबेला तोरी फुलेर पहेंलपुर भएको छ । बारीभरि फुलेको तोरीले गाउँ नै सुन्दर देखिएको छ । बिपी राजमार्ग अन्तर्गतको भकुण्डेबेंसी बजारबाट करिब २० मिनेटको पैदल यात्रामा पुगिने काफ्लेथोक प्राकृतिक शान्ति र ग्रामीण सौन्दर्य खोज्नेका लागि एक सम्भावनायुक्त रमणीय गन्तव्य हो । यहाँको हरियाली, खुला आकाश र टाढाबाट देखिने हिमाली दृश्यहरूले आगन्तुकको मन लोभ्याउँछ ।
यहाँ करिब दुई दशक अघिदेखि तोरीखेती सुरु भएको हो । धेरै घरधुरीमा आफ्नै बारीमा फलेको तोरीबाट तेल निकालेर वर्ष दिनसम्म परिवारको आवश्यकताको पूर्ति हुने गरेको छ । स्थानीयहरूको भनाइमा बजारको तेलभन्दा आफ्नै तोरीको स्वाद बेग्लै हुन्छ, अनि स्वास्थ्यका हिसाबले पनि भरपर्दो हुन्छ ।
मकै, धान र गहुँ यहाँका प्रमुख खाद्यबाली हुन् । भदौको अन्त्यदेखि असोजको सुरुवातसम्म मकै भित्र्याएर त्यसपछि तोरी लगाउने चलन छ । यो गाउँ धार्मिक दृष्टिले पनि विशेष मानिन्छ । विगत ४५ वर्षदेखि अखण्ड हरेराम भजन गुञ्जिरहने एक मन्दिरले गाउँको आध्यात्मिक महत्व अझ सुदृढ बनाएको छ । गाउँकै बीच भागमा रहेको यस मन्दिरमा बिहान र साँझ घन्किने भजन र संगीतले वातावरणमा शान्तिको अनुभूति गराउँछ । औँसी, पूर्णिमा र विविध पर्वहरूमा मन्दिरमा भक्तजनहरूको बाक्लो उपस्थिति देखिन्छ ।
झण्डै १०० घरधुरी रहेको काफ्लेथोकमा ‘काफ्ले’ थरको बाहुल्यता छ । साथै, गैरापिप्ली, अर्याल, न्यौपाने, अधिकारी, गिरी, भुजेललगायतका थरका समुदायहरू पनि यहाँ सँगसँगै बसोबास गर्छन् । अधिकांश परिवार शाकाहारी हुन् र सरल, आध्यात्मिक जीवन शैलीमा रमाउने गर्छन् ।
तस्वीरहरु : प्रल्हाद गैरापिप्ली /नेपाल फोटो लाइब्रेरी