`

भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइलहरू खोलेका छौं : प्रधानमन्त्री कार्की

Nepal One HD ३१ असोज २०८२ १५:५२
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री सुशील कार्कीले वर्तमान सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु रहेको बताएकी छन् । शुक्रवार अपरान्ह सिंहदरवारमा नेपालस्थित विभिन्न देशका राजदूत तथा कुटनीतिक नियोग प्रमुखहरुसँग पहिलो पटक सामुहिक भेटगरी उनले आफू नेतृत्वको अन्तरिम सरकारको कामको प्राथमिकताबारे ब्रिफिङ गरेकी हुन् ।

परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले नेपालको विदेश सम्बन्ध र त्यसका नीतिका बारेमा पनि आफ्नो धारणा राखेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । प्रधानमन्त्री कार्कीले देशमा जरो गाडेर फैलिएका भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेर काम थालिएको बताएकी छिन् । ‘हामीले पारदर्शितालाई बढवा दिन र सार्वजनिक कोषको दुरुपयोगका बाटाहरू बन्द गर्न राष्ट्रिय बजेटलाई संशोधन गरेका छौं र ज्यादै फैलिएका भ्रष्टाचार र भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइलहरू खोलेका छौं,’ उनले भने ।

वर्तमान सरकारले जवाफदेहीता सुनिश्चित गर्न तत्काल कदमहरू चालिरहेको उनले ब्रिफिङको क्रममा भनेकी छिन् । ‘संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यहरूका लागि सबैभन्दा बढी फौज पठाउने देश हुनुमा हामीलाई गर्व छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘यो विश्व शान्तिमा हाम्रो सामान्य तर अर्थपूर्ण योगदान हो ।’

प्रधानमन्त्री कार्कीले निर्वाचनमा सहयोगको अपेक्षा गरिएको पनि बताएकी छन् । उनले निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षक परिचालन र विदेशमा रहेका सबै नेपालीहरुलाई पनि मतदानमा सहभागी गराउने विषयमा पनि छलफल भइरहेको बताइन् । फागुन २१ गतेको निर्वाचनमा विदेशमा रहेका सबै नेपाली नागरिकलाई मतदानमा भाग लिन लगाउने विषयमा पनि आफूले छलफल गरिरहेको कुरा पनि प्रधानमन्त्री कार्कीले राजदूतहरुसँग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रवक्ता क्षेत्रीले भने, ‘यो डिभ्लोम्याटिक ब्रिफिङ कार्यक्रम हो । यसमा मूलत उहाँले यो सरकारको प्रमुख प्राथमिकता भनेको चुनाव हो । चुनावको साथसाथै अन्य प्राथमिकताहरु सरकारले तय गरेको छ । त्यसको बारेमा जानकारी गराउनु भयो । अर्को कुरा विदेश सम्बन्ध र परराष्ट्र नीतिका विषयमा पनि उहाँले केही जानकारी गराउनु भयो । यो पहिलो ब्रिफिङ हो ।’

उनले भने, ‘एक किसिमले परराष्ट्रमन्त्रीको हैसियतले उहाँले यो ब्रिफिङ गर्नु भएको हो । चुनावको विषयमा यहाँहरुलाई थाहा नै छ । चुनाव महत्वपूर्ण प्राथमिकता भएको हुनाले चुनावसँग सम्बन्धित मूलतः ३ वटा विषयहरु एउटा सहयोग, सद्भावको विषय । दोस्रो यो चुनावमा जुन विदेशी पर्यवेक्षकहरु मोविलाईज गर्ने कुरा हुन्छ । त्यो विषयमा पनि कुरा भयो । र तेस्रो सम्भावनाको हिसावले विदेशमा रहेका नेपालीहरुलाई पनि यो चुनावमा सहभागी गराउन सकिने विषयमा सम्भावना अध्ययन भइरहेको विषयमा पनि उहाँले जानकारी गराउनु भयो ।’
प्रधानमन्त्री कार्कीसँगको भेटमा नेपालस्थित विभिन्न देशका राजदूत र कुटनीतिक नियोगका प्रतिनिधिहरु सहभागी भएका थिए । —न्युज एजेन्सी नेपाल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *