जेनजी आन्दोलनपश्चात शान्ति सुरक्षाका लागि देशभर नेपाली सेना परिचालन गरियो : मनोज थापा


काठमाडौं । नेपाली सेनाका युद्धकार्य निर्देशनालयका निर्देशक सहायक रथी मनोज थापाले जेनजी आन्दोलनपश्चात उत्पन्न अवस्थालाई नियन्त्रणमा लिन नेपाली सेनाले सक्रिय भूमिका निर्वाह गरेको जानकारी दिएका छन् ।
शुक्रबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा उनले आन्दोलनपश्चात शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाले सक्रिय भूमिका निर्वाह गरेको जानकारी दिएका हुन् ।
उनका अनुसार भदौ २३ गते दिउँसो १२ः३० बजे काठमाडौंमा कफ्र्यु आदेश जारी भएपछि संघीय संसद् भवन (नयाँ बानेश्वर) सुरक्षाका लागि सेना खटाइएको थियो । त्यसैदिन साँझ ५ः१० बजे सुनसरीको इटहरीमा पनि कफ्र्यु जारी भएपछि सेनाको फौज परिचालन गरिएको थियो ।
उनले आन्दोलनका क्रममा सेनाले गरेका गतिविधिबारे संक्षिप्त विवरण प्रस्तुत गर्दै भने, ‘भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाहरुको विवरणबारे यहाँहरु जानकार नै हुनुहुन्छ । भाद्र २३ गतेको १२ ः३० बजेको समयमा कफ्र्यू घोषणा भएपछि काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन सुरक्षाको लागि नेपाली सेना खटिएको थियो । साथै सोहि दिन १७ ः १० बजे सुनसरी जिल्लाको इटहरीमा समेत कफ्र्यू घोषणा भएपछि सेनाको फौज खटिएको थियो । भाद्र २४ गते नेपाली सेनाले देशको शान्ति सुरक्षाको स्थिती चुनौति हुँदै गएपछि अति विशिष्ट तथा विशिष्ट व्यक्ति, राजनीतिक व्यक्ति र सुरक्षाकर्मीहरुलाई सुरक्षित स्थानमा उद्धार गरेको थियो ।’
भदौ २४ गते शान्ति सुरक्षाको स्थिति थप चुनौतीपूर्ण हुँदै गएपछि नेपाली सेनाले अति विशिष्ट तथा विशिष्ट व्यक्ति, राजनीतिक नेतृत्व र सुरक्षाकर्मीहरुलाई सुरक्षित स्थानमा उद्धार गरेको समेत उनले जानकारी गराए । त्यसैदिन मुख्य सचिवसहित सुरक्षा निकाय प्रमुखहरूले संयुक्त अपिल जारी गरेका थिए भने नेपाली सेनाले पनि संयमित रहन, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न आम नागरिकमा अनुरोध गरेको थियो ।
त्यसैदिन राति ९ः३० बजे प्रधानसेनापतिको सम्बोधनपछि राति १० बजेबाट नेपाली सेना देशभर प्रभावकारी रूपमा शान्ति सुव्यवस्था कायम गर्न तैनाथ भएको थियो । सेनाको यो परिचालन भदौ २५ देखि भदौ २८ बिहानसम्म देशव्यापी रूपमा कायम रहेको थियो ।
उक्त अवधिमा नेपाली सेनाले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसँग संयुक्त रूपमा विभिन्न किसिमका सुरक्षा गतिविधिहरू सञ्चालन गरेको सहायक रथी थापाले जानकारी दिए ।
उनले भने, ‘मुख्य सचिव सहित सुरक्षा निकायका प्रमुखहरुले संयुक्त अपिल जारी गर्नुका साथै नेपाली सेनाले सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन अनुरोध समेत गरेको थियो ।
यसैदिनको २१ ः३० बजे प्रधानसेनापतिको सम्बोधन पश्चात नेपाली सेना २२ बजेबाट प्रभावकारी र भरपर्दो शान्ति सुव्यवस्था कायम गर्न देशभर तैनाथ भएको थियो । भाद्र २५ गते ततपश्चात भाद्र २८ गते बिहानसम्म देशभर नेपाली सेना शान्ति सुरक्षा कायम गनै तैनाथ रहेको थियो । यसैअवधिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँग संयुक्त रुपमा विभिन्न किसिमका सुरक्षा गतिविधिहरु सञ्चान गरेको थियो ।’